कास्कीमा क्रियाशील सात राजनीतिक दलले गृहमन्त्री रवि लामिछाने सहकारी पीडितप्रति गम्भीर हुनुका सट्टा उल्टै पीडकको पक्षपोषण गरेको आरोप लगाएका छन्।
सहकारी ठगलाई कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा दलहरुले उक्त आरोप लगाएका हुन्।
‘आफ्ना जायज माग राखी आन्दोलित भएका पीडितहरुप्रति गैर जिम्मेवार भई राज्यका उच्च निकाय र शान्ति सुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्रीबाट पीडत प्रति गम्भीर हुनुका सट्टा उल्टै पीडकहरुको पक्षपोषण गर्नुले पीडितहरुको चोटमा चोट थपेको छ,’ ज्ञापनपत्रमा भनिएको छ।
सहकारी ठगलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्नेमा कतिपय ठूला राजनीतिक दल नै बचाउमा लागेको ज्ञापन पत्रमा उल्लेख छ।
ज्ञापन पत्रमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केशबहादुर परियार, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का प्रवक्ता चन्द्रबहादुर केसी, नेपाल समाजवादी पार्टी कास्की इन्चार्ज टिकाराम पौडेल, नेपाल कम्युनिष्ट पार्टी कास्कीका सचिव उमेश सी, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष सन्तोष पौडेल, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधी मनिष भट्टराई, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका प्रतिनिधी बुद्धि पुर्जा र वैज्ञानिक समाजवादी मोर्चाका प्रतिनिधी विनोद सुनामले हस्ताक्षर गरेका छन्।
ज्ञापन पत्रमा उनीहरुले चारबुँदे माग पनि पेस गरेका छन्। माग पत्रमा समस्याग्रस्त सहकारी बचत पीडितहरुको बचत सुरक्षा र फिर्ता गर्नुपर्ने, सहकारीका रकम अपचलन गर्नेहरुको छानबिन गरी कानुनी कारबाही गरिनुपर्ने, आन्दोलनरत सहकारी पीडितको जिउधनको रक्षा र धम्काउनेहरुलाई कानुनी कारबाही हुनुपर्ने र कानुनी अपूर्णता र अस्पष्टताका अन्त्य गर्नुपर्ने उल्लेख छ।
ज्ञापन पत्र बुझेपछि कास्कीका सिडिओ वासुदेव घिमिरेले सहकारी पीडितको समस्या समाधान गर्न आफुले प्रयास गरिरहेको दाबी गरेका थिए। उनले ज्ञापन पत्र तुरुन्त प्रधानमन्त्री कार्यालय पठाउने बताए।
ज्ञापन पत्र बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं कास्की इन्चार्ज सावित्रा दुराले सहकारी पीडितका पक्षमा राजनीतिक दलहरु पनि बोल्ने बेला आएको बताइन्।
‘सहकारी ठगका विरुद्ध पीडितले मात्र बालेर पुगेन, अब हामी राजनीतिक दलहरु पनि बोल्ने बेला आएको छ,’ उनले भनिन्, ‘पीडितको पक्षमा उभिने कि पीडकको पक्षमा उभिने भनेर दलहरुले अब निर्णय गर्नुपर्छ।’
सहकारी पीडित आन्दोलित भएको २ वर्ष बित्दा पनि सरकारले कुनै पहलकदमी लिन नसकेको उनले बताइन्। सहकारी प्रणाली राम्रो भएर पनि ठगी गर्ने मनसाय लिएका व्यक्तिले अहिलेको समस्या देखिएको उनले बताइन्।
‘सहकारीमा जनताको पैसा ठग्न पाइन्छ भनेर आउनुहरुले अहिलेको समस्या देखिएका हुन्, यसले राम्रा सहकारीलाई पनि अप्ठ्यारो सिर्जना गरेको छ,’ उनले भनिन्।