बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मतमा तीन वटा निकाय खटिएका छन्।
तीन सातायता मेलम्चीको मर्मत मेलम्ची खानेपानी आयोजना, सिँचाइ मन्त्रालय र सडक विभागले गरिरहेका छन्।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार अहिले हेडवर्क्सको काम भइरहेको छ। जहाँ बाढीले ल्याएर थुपारेको थेग्रिनी छ।
हेडवर्क्स वरपर ठूलो मात्रामा थेग्रिनी छ। थेग्रिनी सफा गर्ने क्रममा ठूला-ठूला चट्टान फेला परेका छन्।
‘ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ,’ पन्तले भने, ‘त्यो काम मेलम्ची खानेपानी आयोजना विकास समितिले गरिरहेको छ।’
पन्तका अनुसार थेग्रिनी दसदेखि पन्ध्र मिटरसम्म छ, सँगै ठूला ढुंगा फेला परिरहेका छन्।
गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो।
टालिएको मुख्य सुरूङ सफा गरिसकिएको छ। त्यहाँ रहेको पानी बाहिर निकालिएको छ।
‘अहिले सुरूङ निरीक्षणको काम भइरहेको छ,’ पन्तले भने।
हेडवर्क्स क्षेत्रमा अस्थायी कफरड्याम बनाउने विषयको टुंगो लागिसकेको छैन।
‘सफा गर्दै जाँदा कफरड्यामको अवस्था के छ, अस्थायी बनाउँदा हुन्छ या स्थायी बनाउनुपर्छ भन्ने अहिले यकिन भएको छैन,’ पन्तले भने।
यस्तै, नदी नियन्त्रणको काम सिँचाइ विभागलाई दिइएको छ भने सडक र पुल निर्माणको काम सडक विभागलाई दिइएको छ।
सिँचाइ विभागले नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइरहेको छ। मेलम्चीको माथिल्लो भाग भ्रेमाथाङको अध्ययन गरिरहेको विज्ञ टोलीसँग समन्वय गरिरहेको छ।
सडक विभागले विभिन्न खण्डमा गरेर क्षति भएको ८ किलोमिटर सडकको ट्रयाक खोलेको छ। विभागले ट्रयाक खोलेसँगै हेडवरर्क्स र सुरूङको काम गर्न सम्भव भएको हो।
मेलम्चीका आयोजना क्षेत्रमा ६ वटा मोटरेबल पुल थिए। तीमध्ये तीन वटा मोटरेबल पुल बनेका छन्। बाँकी तीन वटा बन्न बाँकी छ।
‘ती पुल अहिले अस्थायी रूपमा बनाइएका छन्, स्थायी रूपमा बनेको छैन,’ पन्तले भने।
यी सबै काम कहिले सकिन्छन् भन्ने समयको टुंगो छैन। त्यसैले अहिले पानी कहिले राजधानी झार्न सकिन्छ भनेर किटान गर्ने अवस्था नरहेको पन्त बताउँछन्।
‘चैतसम्ममा पानी राजधानी झार्ने योजना छ, त्यही अनुसार काम भइरहेको छ,’ पन्तले भने।
गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।
मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ। त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ।
मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो। एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले बताए।
‘टोलीले अध्ययन सक्यो, तर रिपोर्ट दिइसकेको छैन,’ ढकालले भने।
मेलम्चीको इतिहास
- सन् १९७२ मा विश्व बैंकको सहयोगमा काठमाडौं उपत्यकाको खानेपानीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न एउटा गुरुयोजना तयार भएको थियो। उक्त गुरुयोजना यथास्थितिमा कार्यान्वयन हुन नसक्दा योजना अघि बढ्न सकेन।
- सन् १९८८ मा विन्नी एन्ड पार्टनर्स नामक बेलायती अन्तर्राष्ट्रिय संस्थाले उपत्यकाभित्र र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीका स्रोत अध्ययन गरेको थियो। मेलम्ची नदीलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतको रूपमा पहिचान गरेको थियो।
- सन् १९९२ मा स्मेक कन्सल्टेन्ट अस्ट्रेलियाले काठमाडौंका लागि मेलम्ची डाइभर्सन स्किम तथा उपत्यकाभित्रका स्रोतहरू समेत गरी विकल्पहरू अध्ययन गरेको थियो। जसमा ग्राभिटी सिस्टमका आधारमा मेलम्ची नदी र लामटाङ नदी, पम्पिङका आधारमा इन्द्रावती, त्रिशुली र कुलेखानी, इम्पाउन्डिङका आधारमा रोशी खोला र कुलेखानीको अध्ययन गरेको थियो। उपत्यकाभित्रका बागमती, कोड्कु, बल्खु र नख्खु नदीको समेत अध्ययन गरिएको थियो।
- विभिन्न अध्ययन र अनुसन्धान गरी उत्कृष्ट स्रोत मेलम्ची नै हो भन्ने ठहर भएको थियो। यस आयोजनाले काठमाडौं, मेलम्ची र मण्डन उपत्यकामा रहेका धार्मिक, सांस्कृतिक, वातावरणीय पक्षमा सुधार तथा स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने एवं आर्थिक, सामाजिक र प्राविधिक दृष्टिकोणबाट समेत उपयुक्त देखिएकाले काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा पर्याप्त पानी आपूर्ति हुन सक्ने स्रोतको रूपमा मेलम्चीलाई ठहर गरियो।
- यिनै अध्ययनका आधारमा एसियाली विकास बैंकको संयोजकत्वमा नर्वेजियन विकास संस्था (नोराड) स्विडिस विकास संस्था (सिडा), जापानी संस्था (जेविक) र विश्व बैंकबाट मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि विस्तृत अध्ययन कार्य सुरु भएको थियो। त्यसपछि दातृ निकायहरूसँग लगानीका लागि नेपाल सरकारबाट अनुरोध गरिएको र दातृ निकायहरूको आ-आफ्ना किसिमका जटिल तथा बाध्यात्मक सर्त राखिएका कारण तत्कालीन अवस्थामा आयोजना निर्माणको कार्य सुरु हुन सकेन।
- आयोजनाको विकास क्रम हेर्दा आर्थिक वर्ष २०५५/५६ (सन् १९९८ अगसट) मा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयमातहत रहने गरी मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो।
- सन् १९९९ मा विश्व बैंक तथा नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको सम्भाव्यता अध्ययन भएको थियो। सोही अध्ययनहरूकै आधारमा २००१ मा एसियाली विकास बैंक आयोजना लगानीमा सहमत भई ऋण सम्झौता भएको हो।
- सन् २००० मा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि प्रारम्भिक चरणको कार्य सम्पन्न गरी २००१ मा एसियाली विकास बैंकले १२ कराेड अमेरिकी डलरबराबरको ऋण सम्झौता स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना विधिवत सुरु भएको थियो।
- आयोजना सञ्चालन तथा सम्पन्न गर्ने उद्देश्यले सर्वप्रथम सन् २००२ मा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन गरी आयोजनाको प्रारम्भिक लागत अनुमान भएको थियो। सोबमोजिम आयोजनाको प्रारिम्भक लागत जम्मा ४६ करोड ४० लाख डलर रहेको थियो।
- मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरु भएको हो। सुरुमा यो आयोजना सन् २००७ मा सकिन्छ भनिएको थियो। सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्याइएको थियो।
- सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो। चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो।
- कम्पनी टाट पल्टिएको कारण देखाएर सन् २०१९ मा सिएमसी नेपालबाट भाग्यो। त्यसपछि बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइयो।
-सन् २०२१ मार्च २८ मा मेलम्चीको पानी काठमाडौं आइपुग्यो।
- सन् २०२१ जुन १६ मा बाढीले मेलम्चीमा क्षति गरेपछि हाल मर्मत हुँदै।