भक्तपुरमा हत्या गरेको अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ।
ती महिला काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका-९ की २८ वर्षीया जेनिशा नगरकोटी भएको पुष्टि भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी श्रीमानसँग भक्तपुर नगरपालिका-१० भोलाछेमा बस्दै आएकी थिइन्।
उनीहरू ज्याला मजदुरीको काम गर्थे। शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा उनका श्रीमान फेला परेपछि जेनिशाको सनाखत भएको हो। उनका श्रीमान राजु लामा रहेको खुलेको छ।
सोमबार राति ९:५० बजे चाँगुनारायण नगरपालिका-७ बागरेमा हत्या गरेको अवस्थामा जेनिशाको शव फेला परेको थियो।
तरकारी खेतीमा काम गर्नेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको टहराभित्र शव फेला परेको थियो। उनको घाँटी अगाडिको भागमा गहिरो चोट देखिएको छ, हत्यामा धारिलो हतियार प्रयोग भएको देखिएको छ।
शरीर अर्धनग्न अवस्थामा फेला परेको छ। हत्यापछि परालले शव छोपेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।
उनीहरूका एक छोरा छन्। पाँच वर्षीय छोरा काठमाडौं चाल्नाखेलस्थित मावलीमा बस्दै आएको खुलेको छ।
‘छोरा निकै पहिलेदेखि घरमा नभएको, श्रीमान् काममा गएको अवस्थामा उनको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको छ, रिपोर्ट आएपछि बलात्कार हो/होइन भन्ने थाहा हुन्छ।’
घटनास्थलको प्रकृति हेर्दा हत्या आइतबार नै भएको अनुमान प्रहरीले गरेको छ।
श्रीमान लामाले प्रहरीसँग नगरकोटी केही दिनयता कोठामा नभएको बताएका छन्। उनी चाँगुनारायण नगरपालिका-७ सम्म कसरी पुगिन् भन्ने पाटोबाट अनुसन्धान भइरहेको श्रेष्ठले बताए।
‘अहिले शवको मुचुल्का उठाएको र सनाखत मात्रै गर्न सकेको अवस्था हो, बाँकी कुरा अनुसन्धानमै छ,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने।
घटनास्थल बस्तीबाट केही टाढा हो। प्रहरी पुग्दा छाप्रोबाहिर एक जोर चप्पल भेटिएका छन्। ती चप्पल नगरकोटीकै हो भन्ने आशंका गरिएको छ।