प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट जबरजस्ती करणी मुद्दाका आरोपितलाई पक्राउ गरेको छ।
सुनसरी इटहरी उपमहानगरपालिका-५ स्थित ब्लुमिङ लोट्स इंग्लिस स्कुलका फरार प्रिन्सिपल ३६ वर्षीय राज खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक शयामकुमार महतोले जानकारी दिए।
उनका अनुसार फरार भई लुकीछिपी टोखा नगरपालिकास्थित बानियाँटारमा डेरा गरी बस्दै आएका खड्कालाई बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो।
खड्काले आफ्नै स्कुलमा पढ्ने १५ वर्षीय छात्रालाई २०७४ साल साउन २६ गते जबरजस्ती करणी गरेको आरोप छ।
खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षीय छात्रालाई घुमाउने र औषधि उपचार समेत गरीदिने भनेर २०७४ साल साउन २६ गते धरान उपमहानगरपालिका-१० स्थित जनहित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।
उनका अनुसार खड्काले पीडितलाई स्कुलबाट रेस्टिकेट गरिदिने भनी धम्क्याएर समेत जबरजस्ती करणी गरेको आरोप छ।
सोही जबरजस्ती करणीपछि खड्काले सो स्कुल छाडेर अर्कै स्कुलमा पढिरहेकी सोही पीडितलाई विवाह गर्छु भनी फकाउने गरेको र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक-पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको समेत उजुरीमा उल्लेख छ।
सो घटनापछि २०७५ साल भदौ २ गते पीडितले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणीमा जाहेरी दिएकी थिइन्। सो जाहेरीपश्चात खड्का फरार थिए।
प्रहरीले उनलाई पक्राउ गरी कारबाही कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको जनाएको छ।