प्रहरीले स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनीमा संलग्न सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।
आइतबार नेपाल राष्ट्र बैंक ऐन २०५८ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा संलग्न ५ चिनियाँ र दुई जना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार कल सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षे युइहुआ, ४७ वर्षे सू सिजी, २८ वर्षे चेन मिङ्जु, १९ वर्षे छु यिक्युआङ र १९ वर्षे हुङ छिचेङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। उनीहरू पाँचै जना चिनियाँ नागरिक हुन्।
त्यस्तै भारत, उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी र १९ वर्षीया नेहा गुप्तालाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको उनले बताए।
गत साउन १० गते कल सेन्टरको नाममा अवैध काम गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टरमा छापा मारेको थियो। उनीहरूले विभिन्न प्रविधिमार्फत धाकधम्की दिने र व्यक्तिगत गोपनीयता ह्याक गरी रकमको मोलमोलाइ गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जनाएको छ।
सम्बन्धित समाचारः भारतीय ठग्न चिनियाँले नेपाली खटाउने काठमाडौंदेखि बुटवलसम्मका कल सेन्टर