ललितपुरको चापागाउँमा एक जना मृत फेला परेका छन्।
गोदावरी नगरपालिका-११ चापागाउँस्थित एक घरमा डेरा गरी बस्ने एक पुरूष सोमबार मृत फेला परेका हुन्।
नुवाकोट घर भई डेरामा बस्दै आएका ५० वर्षीय कान्छा तामाङ कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी दीपक भारतीले जानकारी दिए।
प्रहरीका अनुसार कान्छा तामाङ सामान्य ज्याला मजदुरी गर्ने व्यक्ति हुन्। सोमबार भने उनलाई स्थानीयले मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
उनी अत्यधिक मापसे गर्ने र एक्लै बस्थे। मापसेकै कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
उनको शव पोष्टमर्टम गर्न ललितपुरको पाटन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकका आफन्त पनि खोजिरहेको डिएसपी भारतीले बताए।
प्रहरीले घटना शंकास्पद नदेखिएको बताएको छ। यसमा आवश्यक अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।