पूर्वी नवलपरासीस्थित पूर्व-पश्चिम राजमार्गमा वर्षाले डाइभर्सन बगाउँदा सवारी साधन सडकमै रोकिएका छन्।
वर्षाले सोमबार राति १० बजे डाइभर्सन बगाएको थियो। जसकारण रातभर राजमार्ग अवरूद्ध भएको हो।
मध्यविन्दु नगरपालिका-७ स्थित डाइभर्सन कावासोती नगरपालिका-१६ चालिस किलोमा रहेको डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मंगलबार बिहान मर्मत गरी एकतर्फी सञ्चालनमा ल्याएको कार्यालयका सई टीका पोखरेलले जानकारी दिए।
‘हिजो परेको पानीले डाइभर्सनका लागि राखिएका कल्भर्टहरू बगायो। त्यसैले अहिले बाटोमा हिँडडुल गर्न अप्ठेरो भएको हो,’ उनले भने, ‘रातो माटो पनि भएकाले असहज छ। तर अहिले एकतर्फीबाटो सञ्चालनमा छ।’
यस्तै कार्यालयले एक सूचना जारी गर्दै पूर्वबाट पश्चिम जाने सवारीसाधनलाई डण्डाबाट हुप्सेकोट हुँदै चोरमारको रूट प्रयोग गर्न भनेको छ।
पश्चिमबाट पूर्व जाने सवारीहरूलाई चोरमारबाट कोल्हुवा हुँदै डण्डा निस्किने रूट प्रयोग गर्न अनुरोध गरेको छ।