सिरिरि बतास चल्दै थियो, हावाले सुस्केरा लगाउँदै पानीका स-साना थोपाहरू मेरो सर्टको बाहुलामा बर्सिँदै थिए— तप, तप। गर्मीको समयमा त्यो प्रत्येक पानीको थोपाले शरीरमा जो आनन्द दिन्थ्यो, त्यो अपूर्व थियो।
त्यो दिन पानी निरन्तर परिरहेको थियो अनि म पानी परेको देख्नासाथ माटोको गन्धलाई महसुस गर्दै बाहिर निस्कने योजना बनाउँदै थिएँ। पानी अझै निकै घना पार्दै पर्न लागेको जस्तो लाग्यो, त्यसैले म रुमतर्फ लागेँ।
रुम पुग्नासाथ पानी झन् जोरसँग पर्न थाल्यो, छानामा परिरहेको पानीको आवाज अनि त्यो हावाको सुसेलीले झन् मौसमलाई रोमाञ्चक बनाउँदै थियो। त्यत्तिकैमा कल आयो, ‘हेलो, कहाँ छौ तिमी?’
मैले जवाफ दिएँ, ‘रुममै छु, किन र?’
अलि मलिन स्वरमा साथीले भन्यो, ‘रुममा आऊ न कुरा गर्न छ।’
मसँग खासै काम थिएन, त्यसैले उसको रुमतर्फ लागेँ।
उसको कोठामा छिर्ना साथ अलि छस्स रक्सीको गन्ध पाएँ— सायद उसले एक-दुई पेग खाएको हुनुपर्छ। अरू बेला खासै रक्सी खाने मान्छे त हैन फेरि? तर उसलाई चुरोटको चाहिँ खुब लत लागेको थियो।
ऊ आफैँ भन्थ्यो— ‘चुरोट र मेरो सम्बन्ध नङ र मासु जस्तो छ।’ तर त्यो दिन ऊ अलि भावुक देखिन्थ्यो।
म जानासाथ उसले एक चुरोट मुखमा हाल्दै लाइटर बाल्न थाल्यो अनि आँखा चिम्लेर धुवाँ उडाउँदै भन्यो, ‘म के गरूँ यार?’
म उसको अनुहारतिर फर्किँदै भनेँ, ‘किन? के भयो र?’
‘यो घरबाट निस्किहाल्नु भन्दै छन् यार, घरबेटीले। कहिले पानीको टेन्सन, कहिले मिटर बक्स बन्द गरेर हिँड्छन्, कहिले नुहाउँदा नुहाउँदै ट्यांकी बन्द गर्छन्। म दिक्क भइसकेँ यार, यो काठमाडौँमा बस्न। मेरा बुवा-आमाले छोरालाई काठमाडौँ पढाउन पाए त के-के नै होला भन्दै गाउँको सानो टुक्रा जमिन बेचेर प्लस-टुमा साइन्स पढाउन काठमाडौँ पठाएका। म के गर्दै छु? अनि त्यहीँमाथि काठमाडौँका घरबेटी— उफ्!’
उसको स्वरको मलिनताले नै मैले समस्याको गहिराइ बुझिसकेको थिएँ। मेरो पनि सानैदेखि काठमाडौँमै बसोबास थियो। हाम्रो परिवार पनि सानैदेखि भाडामा बसोबास गर्दै आएको हुनाले म उसको पीडा बुझ्थेँ।
ऊ फेरि अर्को चुरोटको खिल्ली मुखमा हाल्दै बोल्न थाल्यो। मैले उसको हातको चुरोटको खिल्ली समातेर त्यही एस्ट्रेमा दबाएँ। उसले अर्को चुरोट मुखमा हाल्दै भन्यो, ‘आज मलाई नरोक् यार, आखिर कहिलेसम्म यस्तो? यो मिडल क्लास फ्यामिलीमा हुर्किँदा त आफ्नै सपनाको बोझमा दबिनु पर्ने रहेछ यार। सुरुमा घर बनाउँछु अनि बुवा–आमालाई राख्छु, गाडी किन्छु, १०-५ जागिर खान्छु— यहीँ केही गर्छु। तर भने जस्तो केही हुँदैन रहेछ यार। के सोचेको थिएँ, के भयो। म आफ्नै सपनाको बोझमा अड्किएको छु, जिम्मेवारीको बोझले दबिएको छु’ भन्दै आँखा रसाउन थाल्यो।
रुन्चे बोली बोल्दै अर्को चुरोटको खिल्ली मुखमा लगाउन थाल्यो। मैले फेरि उसको चुरोट एस्ट्रेमा दबाउन खोजेँ।
‘ला यार खान्न अबबाट। दिक्क लागिसक्यो यो चुरोटको लत देखेर नि। न छोड्न सक्छु, न यसलाई पछुतो नमानी पिउन नै सक्छु।’
उसको मन रोएको थियो। ऊ बुझ्थ्यो कि उसका काँधमा धेरै जिम्मेवारी छन्, उसका बुवा–आमाको आस ऊमाथि थियो। उसका बुवा–आमाले आफूले देखेका सपना उसले पूरा गरोस् भनेर चाहन्थे होलान् सायद।
उसले देखेको सपना ठुलो पनि थिएन— एउटा आरसिसी गरेको पक्की घर। ऊ फेरि घर फर्किँदा त्यो गाउँको पुरानो भूकम्पले हल्लिएको माटोको घर देख्न चाहँदैन थ्यो। त्यसैले नै होला यति आत्तिएको।
उसका आँखा रसाउन थालिसकेका थिए, ‘म के गरूँ?’ भन्दै ऊ सुँक्क सुँक्क गर्दै रुँदै थियो। म आफै पनि निःशब्द भइसकेको थिएँ।
‘आज यतै बस् ल? मलाई आज एक्लै बस्न मन छैन’ भन्दै उसले गोजीमा भएको १०० रुपैयाँ निकालेर, ‘बरु मासु ल्याउँला अनि खाउँला’ भन्यो। मैले ‘हुन्छ’ को इसारा गर्दै टाउको हल्लाएँ। ऊ फेरि बोल्न थाल्यो— ऊ रक्सीको नशामा भए पनि कुरा निकै गम्भीर गर्दै थियो। गाउँको केटो, फेरि घरको एक्लो छोरो। बुवा–आमाले पनि निकै माया गर्नुहुन्थ्यो।
यतिकैमा उसको घरबाट फोन आयो। ‘मलाई नबोल् है’ भनेर आँसु पुछ्दै आफ्नो आवाजको टोन मिलाउँदै बोल्यो, ‘हजुर बा, मेरो सबै ठिक छ यता, त्यहाँ के छ हजुरको? आमा कस्ती छन्?’
‘यताको ठिकै छ, निकै छिन् आमा पनि। पढाइमा ध्यान दे है। तँलाई सजिलै खाता पैसा पठाइदिएका छौँ त, बस पढ् मात्र। घाँस दाउरा गर्न पर्दैन क्यारे, बस पढ्नमा मात्र ध्यान दिनु’ भन्दै फोन काटे।
ऊ लामो सास फेरेर खाटमा पल्टियो।
उसले भोगेका भोगाइ कम थिए र! तर अक्सर बुवा-आमासँग फोनमा बोल्दा हाम्रो पाला जस्तो दुख कहाँ छ र तिमीहरूलाई भन्दै गाली गर्ने गर्नुहुन्छ। तर यो बेला फरक छ, समाज फरक छ। कतै थकाइ लाग्दा बाटोमै सजिलै बस्न दिँदैनन् आजकल, घाँटीले प्याक-प्याक हुँदा एक गिलास पानी माग्दा पनि २० रुपैयाँ भयो भन्छन्— यस्तो जमाना छ अहिले।
त्यसैले भन्छन् नि— सबैको भोगाइ आ-आफ्नै हुन्छ, कुनै बेलाको भोगाइ कम र धेरै भन्न चाहिँ नहोला जस्तो लाग्छ मलाई।
त्यसपछि हामी तरकारी किन्न बाहिर निस्क्यौँ। हामी मासु, टमाटर, प्याज सबै किन्दै थियौँ। साथीले सोध्यो, ‘दिदी, कति भयो पैसा?’
उता बाट जवाफ आयो, ‘१५०।’
‘दिदी खातामा लेखिदिनु ल।’
‘जे पनि खातामा लेख्नु?, अनि त्यो त्यो खुर्सानी किन हाल्या प्लास्टिकमा सितैमा आउँछ त्यो खुर्सानी?’ भन्दै झर्किइन्।
उसले खुर्सानी त्यहीँ छोड्यो र हामी रुमतिर फर्कियौँ।
उसले त्यो दिन खुब मिठो मासु बनाएर खुवायो। अर्को दिन बिहान म आफ्नै रुम फर्किएँ।
त्यो दिनपछि म उसको रुममा खासै जान भ्याइएन भनौँ। कहिलेकाहीँ फोनमा भने कुरा हुन्थ्यो। म पनि ब्याचलर्स पढ्न थालेँ, ऊ सम्पर्कविहीन हुन थाल्यो। मसँग न उसको नम्बर थियो, न उसले फेसबुक चलाउँथ्यो।
कहिलेकाहीँ प्लस-टुका साथीहरूसँग भेट्दा म उसलाई सोध्थेँ— ‘ओइ, कहाँ छ त त्यो सजीव अहिले?’
उनीहरू पनि जवाफविहीन नै हुन्थे।
ब्याचलर्सपछि मैले एउटा प्राइभेट कम्पनीमा जागिर गर्न थालेको थिएँ। त्यो बेला त्यति धेरै साथीहरू पनि थिएनन्।
यसरी नै समय बित्दै १० वर्ष कटिसकेछ।
‘ममी, म निस्केँ है’ भन्दै हतार-हतार बाहिर निस्किँदै थिएँ। बाइक स्टार्ट गरेर म अफिसतर्फ लागेँ। रेड लाइट थियो, अफिस पुग्न हतार। अचानक मेरो हेराई एक ठाउँमा अड्कियो।
‘ओइ सजीवे?’
म अचम्ममा परेँ। ऊ सरकारी गाडीमा थियो। उसले मलाई देख्नासाथ उसको अनुहारको रंग फेरियो।
‘ओइ तँ, कता हराएको यत्रो वर्ष ?’
उता ट्राफिक सिठी फुक्दै थियो। हामीले गाडी एक साइडमा लगायौँ, ऊ आफ्नो ड्राइभरलाई केही इसारा गर्यो र मतिर फर्किँदै दाँत देखायो।
म उसलाई बस्नको इसारा गर्दै त्यहाँबाट उसलाई एक रेस्टुरेन्टमा लिएर गएँ। त्यो दिन अफिस नै हाँपेँ। एस्ट्रे ऊतिर पास गर्दै थिएँ, उसले खिस्स दाँत देखाउँदै भन्यो, ‘चुरोट छाडेँ यार, परिस्थितिले छुटायो भनौँ।’
म झन् खुसी हुँदै दाँत देखाएँ।
‘घर बनाइयो यार, आरसिसी वाला, राम्रो हुँदै छ सब अहिले’ भन्दै उसले थप्यो।
‘अनि तेरो?’ भनेर भन्दै मतिर हेर्यो।
‘म पनि खुसी छु, एउटा प्राइभेट कम्पनीमा जागिर गर्दै छु, ठिकै छ सबै।’
‘अनि यत्रो समय कहाँ हराइस्? बिर्सेको?’ मैले सोधिहालेँ।
‘हैन यार, ब्याचलर्स खुब मेहनत गरेर पढियो अनि लोक सेवा तयारी नि गर्दै थिएँ, हेर न फोनहरू खासै चलाइएन त्यसैले। तर खुब सम्झिन्थेँ तँलाई। पछि तैँले पनि नम्बर चेन्ज गरेछस् अनि 'कन्ट्याक्टलेस' भयौँ नि।’
‘ल ल माफ गरिदिएँ तँलाई’ भन्दै म खिस्स हाँसेँ।
‘अब चाहिँ नबिर्सी नि तेरो दाइलाई’ भन्दै उसलाई हेरेँ।
त्यो दिन धेरैपछि आफ्नो मिल्ने साथीसँग भेट भयो। त्यहीँ साथी, त्यही ठाउँ तर फरक समय। अंग्रेजीमा भनिन्छ नि- ‘बेस्ट थिङ अबाउट टाइम इज इट चन्जेज।’