काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध प्रदर्शन गरिएको छ।
संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरूद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो।
आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए।
उनले संविधान, कानुनविपरीत भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।
विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झूटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो।









