विराटनगरमा मंगलबार पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन्।
होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी हुन आएका सांसदलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।
आन्दोलनकारीले प्रहरीको घेरा तोडेर होटलभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो। आन्दोलनकारीले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।
मोरङ प्रहरीका एसपी दीपक पोखरेलका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन्। आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको बताइएको छ।
झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो। झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ। सांसदहरू होटलमा प्रवेश गर्न नपाएपछि कार्यक्रम पनि स्थगित भएको छ।
युएनडिपीको आयोजनामा दुई दिनका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटल नेपालईरिकामा राखिएको थियो। त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेर्न आउने सूचना आएपछि विराटनगरको होटल बिगमा सारिएको कार्यक्रम पनि हुन नसकेको हो।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरूलाई निमन्त्रणा गरिएको थियो।
पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकन गर्नुपर्ने माग गरिरहेको छ।





