पाँचथरको मेचीमार्ग अन्तर्गत फिदिमको कान्छी दोकानमा शुक्रवार राती कार दुर्घटना हुँदा झापा बिर्तामोड नगरपालिका-१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको छ।
ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाईते सबैको पाचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। मृतक कार चालक हुन् भने घाइते बुबा, आमा र दिदी हुन् । उनीहरु ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर झापा फर्कदै थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाका अनुसार मृतकका बुबा ४५ वर्षीय राजु भुजेल, आमा ३९ वर्षीया लीला भुजेल र ४० वर्षीया दिदी नाता पर्ने सिता भुजेल गम्भीर घाइते छन्।
उनीहरू तिनै जना बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका १३ वर्षका मृतकका भाई राजमोहन भुजेल सकुशल रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई थप उपचारकालागि झापा तर्फ पठाइने तयारी भएको प्रहरीले जनाएको छ।
एकै परिवारका ५ सवार कार दुर्घटना भएको डेड घण्टापछि मात्र स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि मात्र घाइतेको उद्धार भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीले उद्धारपछि फिदिमको जिल्ला अस्पतालमा घाइतेहरूको उपचार गर्न पुर्याइएको थियो । उपचारकै क्रममा रश्मिको राती १०ः४९ बजे मृत्यु भएको बताइएको छ।
कार सडकदेखि २०० मिटर तल झरेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।