मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ।
बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो। सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ। ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहोर्याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए।
‘मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो। राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौं। उहाँहरू ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन,’ उनले भने,‘आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौं। उहाँहरूले हामी संवेदनशील भएका छौं भन्नुभएको छ। हामीले संघर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौं, उहाँहरूले त्यही कुरा राखिराख्नुभयो।’
प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप पनि लगाए।