म कक्षा दशमा पढ्दै थिएँ। अन्तिम परीक्षाको अन्तिम तयारीका लागि म खुब मेहनतका साथ जुटेकी थिएँ। एक दिन अचानक तीन जना मानिसहरू हाम्रो घरभित्र प्रवेश गरेँ। दुई जना हाम्रै बाबाका उमेरका र एक जना अलिकति कम उमेरका देखिन्थे।
बा-आमाको उनीहरूसँग के कुरा भो थाहा छैन। बाबाले मलाई एकैछिन बाहिर बोलाउनु भयो र सबैलाई ‘नमस्ते’ गर्न अह्राउनु भयो। म सोहीअनुसार गरेर आफ्नो कोठामा पुनः प्रवेश गरेँ।
पछि थाह पाएँ, बाबाले मेरो बिहेको लागि उहाहरूलाई मलाई हेर्न डाक्नु भएको रहेछ। आमाले भनेपछि मात्रै मैले थाहा पाएकी थिएँ। म सानै थिएँ तैपनि बा-आमाको वचन मैले नकार्न सकिनँ। परीक्षा अघि नै मैले बिहे गर्ने निधो गरेँ। बाबा-आमालाई छोरी कतै फेल पो हुन्छे कि अनि नराम्रो घर पर्छ कि भन्ने खुबै चिन्ता रहेछ। त्यो पनि मैले पछि मात्र थाहा पाएकी थिएँ।
हतार हतारमा बिहे पनि भयो। दुई दिन नयाँ घरमा बसिसकेपछि म पुनः माइतीघरमै फर्किएँ। एसएलसी परीक्षाको तयारीपछि जाँच पनि दिएँ। त्यसपछि आफ्नो कर्म घर फर्किएँ।
समय क्रमश: बित्दै पनि गयो। सुरु सुरुमा राम्रै चलेको थियो। यसैबिच एसएलसीको नतिजा पनि आयो। मेरो ‘फर्स्ट डिभिजन’ आएको रहेछ। म अति नै खुसी भएँ। बाबा-आमा, भाइ-बहिनीलाई खबर पठाए। मेरो खुसीमा उनीहरूले पनि खुसी थपिदिए।
तर मेरो यो खुसी त्यती लामो समयसम्म टिक्न सक्ने देखिएन। घरमा ससुरा बा, सासूआमालाई खासै मन परेनछ यो कुरा।
‘बुहारी, अब तिमी अन्त बढी दिमाग नचलाउनु, घरको काम गर्ने र सासू-ससुराले भनेको खुरु खुरु मान्ने।’
यसो भनिरहँदा मैले मेरा स्वामी जीको मुखमा हेर्ने जमर्को गरेँ। उहाँको कुनै प्रतिकृया आएन। मैले उहाँको आँखामा नजर लाउँदा पनि बा-आमालाई चस्को पस्थ्यो।
केही बेर म नबोली बसिरहेँ। मलाई प्लस-टु पढ्ने खुबै रहर थियो। उमेरले मात्र म सोह्र पुगेकी थिएँ। मेरो एकोहोरो जबर्जस्तीले गर्दा जेनतेन प्लस-टुमा भर्ना गरिदिन परिवार पनि राजी भए। घरदेखि करिब दुई घन्टा हिँडेर क्याम्पस जानु पर्ने यो मेरा लागि अति नै कठिन थियो। तर हिम्मत हारिनँ।
समय बित्दै गयो। म दुई जीउकी भइसकेकी रहेछु। विस्तारै शरीरमा लक्षण देखिएपछि थाह हुन थाल्यो। मलाई अब क्याम्पस जीवनभन्दा आफ्नै जीवन बारे सोच्न पर्ने बाध्यता आइपर्यो। मेरो क्याम्पस जीवन विस्तारै गृहणी जीवनमा परिणत हुँदै गयो।
एक दिन अचानक स्वामी जीले एउटा कुरा सुनाउनु भयो। विदेश जाने कुरा। म एकदमै स्तब्ध बनेँ। मैले उहाँलाई मेरो खुसीका लागि स्वदेशमै बसिदिन अनुनय-विनय गरेँ। मान्नु भएन।
फेरि पेटको बच्चाका लागि भए पनि हजुर मैसँग भइदिनुस् भनेँ। स्वामिजीले बच्चाकै भविष्यका लागि आफू विदेशिन लागेको प्रतिक्रिया दिनुभयो। म एकछिन घोप्टो मुन्टो लगाएर आफैमा मौन रहेँ। झरेका आँसु पनि पुछ्ने कोसिस गरिनँ। मेरो मन रोएको थियो। आँसु पुछेर मन सन्चो पार्ने अवस्था पनि थिएन।
मैले फेरि स्वामी जीलाई भनेँ, ‘सानै उमेरमा विवाह गरेर मैले हजुरलाई आफ्नो बनाएँ। मैले मेरा प्यारा बा-आमा छाडेँ। भाइ-बहिनीलाई बिर्सेँ। समाजलाई भुलेँ। मात्र तपाईंलाई विश्वास गरेँ। बिन्ती मेरो विश्वास यसरी यति छिट्टै नतोडिदिनुस्।’
मैले धेरै नै अनुरोध गरेँ तर स्वामी मान्नु भएन। मलाई छाडेर अन्ततः उहाँ परदेश लाग्नुभयो। मलाई अति नै पीडाबोध महसुस भयो।
बिस्तारै व्यथाले च्याप्दै गयो। सासू-ससुराको मप्रतिको व्यवहार झनै तुच्छ हुन थाल्यो। सासूले मलाई छोरालाई ‘घर निकाला’ गरेको आरोप समेत लगाउनु भयो। जसलाई म खुट्टा समाएर ‘प्लिज! मसँगै भइदिनुस्’ भनेकी थिएँ, उसैलाई मैले किन यस्तो गर्थेँ होला र!
माइतीघर आमालाई फोन गरेर सबै कुरा सुनाएँ। आमा पनि भाव विभोर हुनु भयो। सानी बहिनीलाई केही दिनको लागि पठाइदिन अनुरोध गरेँ।
मेरो हालत साह्रै खराब हुँदै गइराखेको थियो। एक कल विदेशबाट स्वामीको फोन पनि आएन। सासू-ससुरासँग कुरा के हुन्छ त्यो पनि थाह छैन। मेरो याद नआए पनि यो बच्चाको याद पक्कै आउन पर्ने हो। मन कति छिट्टै निर्दयी हुने रहेछ यी मान्छेहरूको!
एक्कासि ढलेर म बेहोस भएकी रहेछु। बहिनीले सबै कुरा पछि मलाई सुनाइन्। गाउँकी सुडेनी दिदीले मेरो अवस्थाको बारेमा जानकारी दिनुभयो र मलाई खुसीको खबर सुनाउनु भयो।
म छोरीको आमा बनेकी रहेछु। छेउमै बसेकी बहिनीलाई बा-आमा र भाइलाई खबर गरिदिन भनेँ। सासू-ससुरालाई पनि खबर गर्न भनेँ। स्वामी जीलाई पनि खबर सुनाउन मन थियो के गर्नु, उनी मबाट टाढा भइसकेका थिए। तैपनि आफ्नो धर्म छाड्न मलाई मन लागेन।
छोरी जन्मिएपछि झनै म घृणामा परेँ। सान्त्वना दिनुको साटो म ‘अलच्छिनी’ भएर छोरी जन्मिएको आरोप मलाई लाग्यो। बहिनीलाई पनि साह्रै असहज भएछ। मेरो हालत देखेर मलाई माइतीघर जान अनुरोध गरिन। उनको अनुरोधलाई स्वीकार गरेँ। हामी फर्कियौँ।
आमाको हातले ज्वानो पानी खाएपछि शरीरमा अलिकति तागत आए जस्तो लाग्यो। अनि जीवन छ जस्तो लाग्न थाल्यो।
दिन बिते, समय बित्यो। म माइतीघरमै बसेँ। छर-छिमेक, दिदी-बहिनीले कति कुरा काटे भनी साध्य छैन। सुनाई साध्य पनि छैन। सुनेकी थिएँ, फलामले नै फलाम काट्छ रे। त्यो साँचो रहेछ।
बहिनीको पनि बिहे भयो। उसलाई मेरो जस्तो तिमीलाई नपरोस् भनेर आशीर्वाद दिएँ। रुँदै रुँदै गइन्। भाइ पनि अस्ट्रेलिया गएको केही समय भएको थियो। बहिनीको बिहेको लागि केही दिन छुट्टी मिलएर आएको थियो। उतै बिहेबारी गरेर बसेको भाइले यसपालि बा-आमालाई उतै लाने कुरा सुनायो। त्यसपछि त मेरो जिन्दगीबाट सबै सकिएको आभास हुन थाल्यो।
घरको जिम्मा मलाई लगाएर स-परिवार छोडेर हिँडे। मलाई बस्न सक्ने आँट थिएन। के गरौँ? जाने ठाउँ पनि त कतै थिएन।
केही महिनापछि प्लस-टु सँगै पढेकी एक जना साथीले फोन गरिन्। कताबाट मेरो हालत थाह पाएकी रहिछन्। काठमाडौँ आउन साथीले अनुरोध गरिन्। बा-आमाको घर छिमेकीलाई जिम्मा लगाएर म काठमाडौँका लागि हिँडेँ।
मनमा अनेक कुरा खेलिरहे। आँसु बगिरहे। म रोएको देखेर छोरी पनि रुन थालिन। तुरुन्तै छोरीका लागि बनावटी खुसी निकालेँ। छोरी फेरि मुसुक्क हाँसिन्। के गरौँ, छोरीका लागि पनि म हाँस्नै पर्ने बाध्यतामा छु।
काठमाडौँ पुगेपछि उनले मलाई आफ्नै आपार्टमेन्टमा लगिन्। मलाई सबै चिज छाडेर त्यही बस्न अनुरोध गरिन्। उनी साथी तर त्योभन्दा पनि धेरै माथि रहिछन्।
समय बित्दै गयो। छोरी ठुली हुँदै गइन्। करिब एक वर्षपछि उनी डिपेन्डेन्टमा जापान जाने निधो गरिन्। म पनि अब आफ्नो अर्को बाटो तय गर्ने मुडमा पुगेँ। उनले मलाई ‘सेल्फ डिपेन्डेन्ट’ कसरी बन्ने भन्ने सिकाएर डिपेन्डेन्ट भिसामा जान तयार भइन्।
विदेश जाने दिन आयो। एयरपोर्टसम्म छोरी र म छोड्न गयौँ। निकै सान्त्वना दिएर उनी हामीलाई छोडेर गइन्। मेरो मनमा धेरै नै पिर पर्यो। मन थाम्न सकिनँ। माइतीघर सम्झिएँ, बा-आमा सबै सबैलाई सम्झिएँ। छोरी काखमा च्यापेर एक कुनामा गएर आँसु पुछ्दै रोएँ। छोरीको मुखमा हेरेँ।
यतिकैमा छोरी पनि बेस्सरी रोइन्। सायद भोक लागेर होला। सोधेँ, आइसक्रिम खाने भनिन्। छोरी ठुली भइसकेकी छिन्। नजिकै पसलमा गएर छोरीलाई आइसक्रिम किनिदिएँ। छोरी खुसी भइन्। छोरीको खुसीमा म पनि खुसी हुँदै फर्कियौँ।
साथीले जापान जानुभन्दा केही दिन अघि मलाई सानो कोठा खोजिदिएर गएकी थिइन। त्यही कोठामा गएर म बस्न थालेँ। एउटै फ्लोरमा बस्ने दिदी अब मेरो साथी बन्नु भयो। उहाँले आफ्ना बच्चालाई हालेको स्कुलमा मेरी छोरीलाई पनि भर्ना गरिदियौँ। दिदी गार्मेन्टमा काम गर्नु हुँदो रहिछ। मलाई पनि कामको चाँजोपाजो मिलाउनु भएको छ। म उतै जान्छु। काम सकेर बेलुका छोरीलाई साथ दिन बेलामै घरमा आउँछु।
बिहान सवेरै उठ्छु। भगवानको पूजा गर्छु। कोठाको भित्तामा श्रीमानजीको तस्बिर अझै टाँसेकी छु। करिव दश वर्ष भयो उहाँको कुनै खबर गाउँतिर आएको छैन रे। कसैले अर्को बिहे गरेर बसेको पनि भन्छन् रे, कोही कोहीले अत्तोपत्तो केही छैन पनि भन्ने गर्छन् रे।
यो संसारमा हजुर कतै भए सधैँ हाँसी खुसी रहनू। म कहिले पनि कसैको कुभलो चिताउने छैन।
जेनतेन जिन्दगी चलेकै छ, चल्नेछ। म खुसी हुने कोसिस गर्ने छु।