काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सामान सार्न सुरू गरेको छ।
बिहीबार महानगरको प्रशासन विभागले जेडिए कम्प्लेक्समा पार्टेसन गरी बनाएका संरचना लिएर काठमाडौं प्लाजामा सार्न सुरू गरेको हो।
सामान सार्ने काम महानगरको प्रशासन विभागबाट सुरू भएको छ।
कम्प्लेक्सको छैटौं तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौं तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइका पार्टेसन खोल्ने काम हिजोदेखि सुरू भएको हो।
सेवा प्रभावित नहुने गरी कार्यालय सार्ने काम भइरहेको प्रशासन विभागका प्रमुख एवं महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए।
'हामीले शनिबार पनि कर्मचारी बोलाएका छौं,' उनले भने, 'सार्ने काममा नगर प्रहरी परिचालन गरेका छौं। पहिले प्रयोग गरिएका सामानलाई टुटफुट हुनबाट बचाएर जेडिए कम्प्लेक्स कार्यालय सञ्चालनमा प्रयोग भएका सामानबाट काठमाडौं प्लाजा कक्ष निर्माण गर्ने, कम खर्चमा कार्यालय सार्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको छ।’
२०७२ सालको भूकम्पमा केन्द्रीय भवन जीर्ण भएपछि महानगरले विभागहरुलाई विभिन्न ठाउँमा राखेर सेवा प्रवाह गरिरहेको थियो। यसरी सेवा प्रवाह गर्दा तिर्नु परेको बहाल रकमले एउटै ठाउँमा सेवा ल्याउन सकिने भएपछि नेपाल ट्रष्टसँग सम्झौता गरी काठमाडौं प्लाजा भाडामा लिन चैत ८ गते महानगर र ट्रष्टबीच सम्झौता भएको थियो।
सम्झौता १० वर्षका लागि रहेको महानगरले जनाएको छ।
यो पनिः
दोब्बर बढी बहाल तिरेर काठमाडौं प्लाजामा सर्दै महानगर