काठमाडौंको ताम्सिपाखास्थित ताम्सिपाखा हिति र सँगैको मन्दिर जीर्णोद्धारमा कंक्रिट लगायतका आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।
वडा कार्यालयले सम्पदा जोगाउने नाममा आधुनिक निर्माण सामग्री प्रयोग गरेर विनाश गरिरहेको स्थानीय राजेन्द्र रजकले बताए।
‘पुरातात्विक सम्पदा निर्माण गर्दा चुना, सुर्खी लगायत प्राचीन सामग्री प्रयोग गरिनुपर्छ। यहाँ भने सिमेन्ट र डन्डीको भरपुर प्रयोग भइरहेको छ,’ उनले भने, ‘यसले मन्दिरको पुरानो शिलालेखमा पनि क्षति पुगेको छ।’
उनका अनुसार ताम्सिपाखा हिति र मन्दिर धोबी समुदायका प्रमुख सम्पदा हुन्। हितिको दायाँतर्फ गणेश र कुमारका मूर्ति छन्, जसलाई धोबी समुदायले पूजा गर्छन्। अहिले यो हिति सुकिसकेको छ, तर कुनै बेला यसैको पानी स्थानीय धोबी समुदायले लुगा धुन प्रयोग गर्थे। पास्नी, ब्रतबन्ध, विवाह लगायत जीवन कर्महरू पनि धोबी समुदायले यही हिति वरपर गर्छन्।
राजेन्द्र रजकका अनुसार गणेशको मूर्तिमुनि रहेको शिलापत्र झनै महत्वपूर्ण छ। यसमा पाटनका तत्कालीन राजा हरिहरसिंह मल्लका छोरा लक्ष्मीनरसिंहको नाम कुँदिएको छ। राजा हरिहरसिंहले आफ्ना जेठा छोरा लक्ष्मीनरसिंहको साटो अर्का छोरा सिद्धिनरसिंहलाई पाटनको राजा बनाएका थिए।
आफू जिउँदो हुँदाहुँदै भाइ राजा भएको रनाहामा लक्ष्मीनरसिंह देवपाटन (पशुपति) गएर धोबीको घरमा बसे।
धोबीको घरमा बस्दा उनले लुगा धुने काम पनि गरे। त्यहाँ सिकुन्चा र फेकुन्चा नाम गरेका दुई छोरी थिए, जसलाई लक्ष्मीनरसिंहले राजकाज र पारिवारिक ज्ञान दिए। पछि जब लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा भए, उनले नयाँ राजाको श्रीपेच धोबीको हातको पानीले चोख्याउने परम्परा चलाए।
उनले धोबी समुदायका नाममा धेरै जग्गा–जमिन, हिति (ढुंगेधारा) र सम्पदा निर्माण गर्न सहयोग पुर्याएको राजेन्द्र बताउँछन्।
‘यसको एउटा प्रमाण मेरो घरनजिकै ताम्सिपाखा हितिमा भेट्न सकिन्छ। हितिनजिकै रहेको गणेशको मूर्तिमुनि राजा लक्ष्मीनरसिंह मल्लको नाम कुँदिएको छ,’ उनले भने, ‘यस्ता सम्पदा तहसनहस पार्नु भनेको हामी धोबी समुदायको इतिहासलाई असर पुर्याउनु हो।’
उनका अनुसार उक्त शिलापत्रमा पहिले नै एक स्थानीयले ढुंगा र सिमेन्ट हालेर क्षति पुर्याएका थिए। त्यसले शिलापत्र पूरै पढ्न मिल्ने अवस्थामा छैन। वडाले विज्ञमार्फत् त्यो ढुंगा हटाउनुपर्नेमा ठेकेदार प्रयोग गरेर निकाल्दा अक्षरसमेत मेटिएको राजेन्द्रले बताए।
‘यहाँ पहिले नै गल्ती भइसकेको थियो। त्यसमाथि थप गल्ती भयो,’ उनले भने, ‘यस्तो सम्पदा स्थल निर्माण गर्दा त पुरातत्व विभागसँग समन्वय गर्नुपर्ने हो, तर उनीहरूले ठेकेदारलाई निर्माण गर्न दिएका छन्।’
ताम्सिपाखा वडा नम्बर १८ अन्तर्गत पर्छ। वडाध्यक्ष न्हुछेकाजी महर्जनले मन्दिर र हितिमा नभई तिनका पछाडिको भित्तामा मात्र सिमेन्ट प्रयोग गरेको र बाहिरी भागमा सुर्खी, चुना र दाची आपा (प्राचीन शैलीको इँटा) नै प्रयोग गरेको बताए।
सम्पदा निर्माणमा बाहिर वा भित्री भाग भन्ने हुन्न। सय वर्ष नाघेका सम्पदामा आधुनिक सामग्री प्रयोग गर्न नपाइने कानुन नै छ।
कंक्रिट सामग्री प्रयोग गर्नुको कारण बताउँदै उनले भने, ‘हामीले स्थानीयको सहमतिमै बनाएका हौं। त्यहाँको हिति र देउता नजिक अग्लो बाटो छ। त्यो भासिएर तल झर्ला भनेर भित्तामा सिमेन्ट प्रयोग गरेका हौं।’
वडाध्यक्ष महर्जनका अनुसार यहाँको हिति र मन्दिर जीर्णोद्धारका लागि करिब ९ लाख रूपैयाँ छुट्याइएको छ।