पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका लागि चितवनमा मोटरसाइकल र्याली गरिएको छ।
रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनले शनिबार ‘डिस्टिङ्गुइस्ड जेन्टलमेन्स राइड–२०२४’ गरेको हो। यो संसारका विभिन्न प्रमुख सहरहरूमा प्रत्येक वर्ष गरिने अन्तर्राष्ट्रिय कार्यक्रम हो।
नेपालमा यस वर्ष चितवन, काठमाडौं, धरान र हेटौंडामा स्थानीय मोटरसाइकल क्लबहरू सचेतनामूलक र्याली गरेका थिए।
भरतपुरमा गरिएको र्यालीमा १३९ वटा क्लासिक भिन्टेज मोटरसाइकलसहित औपचारिक ड्यापर ड्रेसमा विभिन्न उमेर समूहका व्यक्तिहरू सहभागी भएको रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका अध्यक्ष प्रितम श्रेष्ठले बताए।
क्लबले चितवनमा विगत छ वर्षदेखि यस्तो सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए।
कार्यक्रमका सहजकर्ता रहेका रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका सदस्य र बकुलहर रत्ननगर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. शशांककुमार सिंहले प्रोस्टेट क्यान्सर र पुरूषको मानसिक स्वास्थ्य सम्बन्धी सचेतना वृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
जनमानसको ध्यानाकर्षण गर्न मोटरसाइकल र्यालीको आयोजना गरेको उनको भनाइ छ।
कार्यक्रममा प्रोस्टेट क्यान्सरबारे पुरानो मेडिकल कलेज र देव अस्पतालका युरोसर्जन डा. भूषणराज तिमिल्सिना र मानसिक स्वास्थ्यबारे ब्युटिफुल माइण्डका मनोचिकित्सक डा. गिरीराज भन्तानाले सचेतना प्रदान गरेका थिए।
र्यालीमा ५१ वर्ष पुरानो १९७३ मोडेलको बुलेट बाइक, राजदूत, यामाहा, आरएक्स हण्ड्रेड, होण्डा र विभिन्न क्लासिक भिंटेज बाइकहरू थिए।