नक्कली नोट छापेर कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ३ टौखेल बस्ने ३७ वर्षीय करण प्रधान, काभ्रे मण्डनदेउपुर नगरपालिका-११ तिमिल्सिना गाउँ बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा नगरपालिका-५ बस्ने २५ वर्षीय सबिन हुमागाईं छन्।
गत बिहीबार गोदावरीमा नक्कली नोटबाट कारोबार गर्न खोजेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त खबरपछि प्रहरी प्रभाग बाडेगाउँ र परिसरबाट संयुक्त टोली खटिएको थियो।
उक्त टोलीले सुरूमा करणलाई पक्राउ गरेको थियो। उनीबाट एक हजारको २० थान नक्कली नोट बरामद भएको थियो। उनीबाट केही सक्कली नोट समेत बरामद भएको थियो।
त्यस्तै उनीमाथि सोधपुछ तथा अनुसन्धानपछि प्रहरीको टोली काभ्रे पुगेको थियो।
काभ्रेबाट प्रहरीले सुरूमा सञ्जयलाई पक्राउ गरेको थियो। उनको घरबाट प्रहरीले ११५ वटा एक हजारका नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी उनीमाथि सोधपुछ गरी नक्कली नोट छाप्ने व्यक्तिलाई पक्राउ गरेको एसएसपी शेखर खनालले जानकारी दिए।
बनेपामा एचएम मोबाइल केयरका संचालक हुमागाईंलाई पनि प्रहरीले पसलबाट पक्राउ गरेको हो। उनको पसलबाट प्रहरीले ६९ वटा नक्कली नोट हजार दरको र ५०० दरको एउटा नक्कली नोट फेला पारेको हो।
प्रहरीले उनीहरूबाट २०५ वटा नक्कली नोट बरामद गरेको हो। त्यस पसलबाट प्रहरीले फोटोकापी मेसिन पनि बरामद गरेको छ।
एसएसपी खनालका अनुसार पक्राउ परेका व्यक्तिहरूले करिब ३०० वटा नोट छापेको बयान दिएका छन्। जसमध्ये केही बरामद नभएकाले बजारमा गएको हुनसक्ने आशंका समेत छ।
‘हामीले २०५ वटा मात्रै बरामद गरेका छौं। त्यसकारण केही नोटहरू बजारमा गएको हुनसक्छ। सतर्क हुन जरूरी छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘केही पैसा छिटो कमाऔं भन्ने लोभ पलाएपछि पैसा छाप्न थालेको देखियो।’
उनका अनुसार उनीहरूले ठूलो मात्रामा छापेको देखिएको छैन। उनीहरूले सामान्य एफोर साइजको कागजमै उक्त नगदको प्रिन्ट गरेको पाइएको हो।
प्रहरीले उक्त पसलबाट ४०० थान कागज पनि बरामद गरेको छ।
उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।