भक्तपुर नेपालको मौलिक कला, संस्कृति र परम्परा जीवन्त रहेको सहर हो।
यहाँका पुराना बस्ती, मन्दिर र सम्पदासँगै पुस्तौँदेखि चल्दै आएका परम्परागत सीपले पनि यस सहरको पहिचान जोगाइरहेका छन्।
भक्तपुरको पोटरी स्क्वायर त्यस्तै एउटा ठाउँ हो, जहाँ माटोका भाँडाकुँडा बनाउने परम्परा आज पनि निरन्तर चलिरहेको छ।
पोटरी स्क्वायर पुग्दा लाग्छ, कुनै खुला संग्रहालयमा आइपुगियो। यहाँका घर-घरमा माटो मुछ्ने, चक्र घुमाउने, भाँडाकुँडालाई आकार दिने र घाममा सुकाउने दृश्य देखिन्छन्।
माटोबाट विभिन्न आकारका भाँडाकुँडा बनाउने यहाँका मानिसहरू कुनै खारिएका कलाकारभन्दा कम लाग्दैनन्। यही कारण पोटरी स्क्वायर स्वदेशी तथा विदेशी पर्यटकका लागि पनि भक्तपुर घुम्दा पुग्नैपर्ने आकर्षक गन्तव्य बनेको छ।
अहिले यही पोटरी स्क्वायरमा तिहारको तयारी चलिरहेको छ। तिहार नजिकिँदै गर्दा माटोका पाला, धुपौरो र पूजापाठमा प्रयोग हुने अन्य सामग्री बनाउन भ्याइनभ्याइ छ। यहाँका प्रजापति समुदायका परिवारलाई अहिले माटोका सामग्री बनाउन र बजारमा पठाउन चटारो छ।
विवेक प्रजापति दिनभरि माटोका भाँडाकुँडा बनाउने काममै व्यस्त हुन्छन्। यो उनको पुर्ख्यौली पेसा हो।
बाबुले सिकाएको सीपलाई उनले निरन्तरता दिइरहेका छन्। उनका अनुसार उनी एक दिनमा तीनदेखि चार सय वटासम्म धुपौरो बनाउन सक्छन्। तिहारको समयमा भने अरू बेलाभन्दा बढी माग हुने भएकाले कामको चाप पनि बढ्छ।
'हाम्रो त पुर्ख्यौली पेसा हो। बाबाले यस्तो गर्ने, उस्तो गर्ने भनेर सिकाउनुभयो। अहिले हामीले पनि यही कामलाई निरन्तरता दिइरहेका छौँ,' विवेक भन्छन्।
उनका अनुसार माटोका भाँडाकुँडा बनाउने कामबाट परिवारको गुजारा चलेको छ। तर, पहिलेको तुलनामा यसबाट हुने आम्दानी र नाफा भने घटेको छ। भाँडा बनाउन आवश्यक माटोसमेत अहिले आफैले किनेर ल्याउनुपर्छ।
भक्तपुरका कुमालहरूले काठमाडौंको मूलपानीबाट कालो माटो ल्याएर सामग्री बनाउँदै आएका छन्। माटो गहिराइमा खन्नुपर्ने भएकाले यसको व्यवस्थापन पनि सजिलो छैन।
तयार भएका सामग्री उनीहरूले प्रायः थोक व्यापारीलाई बिक्री गर्छन्।
व्यापारीले त्यहाँबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा पुर्याउँछन्। उत्पादकले एउटा पाला थोकमा तीन रुपैयाँका दरले बिक्री गर्छन् भने खुद्रा मूल्य पाँच रुपैयाँसम्म पर्छ। तर, पसलमा पुगेपछि यही पाला ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको प्रजापति बताउँछन्। उत्पादकले पाउने मूल्य र बजारमा उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको अन्तरले पनि माटोका भाँडा बनाउनेहरूको मेहनतअनुसारको आम्दानी हुन नसकेको उनको भनाइ छ।
पोटरी स्क्वायरमा माटोका भाँडा बनाउने परिवारका लागि यो केवल आम्दानीको माध्यम मात्र होइन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीप र संस्कृति पनि हो। प्रजापति परिवारका धेरै सदस्य यही पेसामा आबद्ध छन्। कसैले अन्य काम गरे पनि फुर्सदको समयमा माटोका सामग्री बनाउन सघाउने गरेका छन्।
तिहारमा घरघरमा दीपावली गर्न माटोका पाला बाल्ने परम्परा छ। पछिल्लो समय बजारमा विद्युतीय तथा आयातित रंगीचंगी बत्तीको प्रयोग बढेको छ। तर, त्यसले माटोका पालाको माग विस्थापित गरिनसकेको यहाँका व्यवसायी बताउँछन्।
अर्का व्यवसायी विनोदकुमार प्रजापतिका अनुसार अहिले पनि माटोका पाला र धुपौरो किन्ने ग्राहकको कमी छैन।
उनका छोराछोरीले यस वर्ष मात्रै १० देखि २० हजार वटासम्म पाला बनाएको उनको अनुमान छ। तिहारको समयमा मात्रै कम्तीमा ४० देखि ५० हजार रुपैयाँ बराबरका माटोका सामग्री बिक्री हुने गरेको उनी बताउँछन्।
'झिलिमिली बत्ती बाल्नेहरूले पनि माटोको पाला किनिरहेका छन्। यो धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएको कुरा हो। माग भएकै कारण हामीले बनाइरहेका छौँ,' उनी भन्छन्।
उनका अनुसार माटोका पाला बाल्ने परम्परा बिजुली बत्तीले पूर्ण रूपमा विस्थापित गरेको छैन। कसैले विद्युतीय बत्ती प्रयोग गर्छन्, कसैले माटोका पाला बाल्छन्। परम्पराअनुसार पूजा गर्ने र घरमा पाला बाल्ने चलन अझै कायम छ।
आधुनिक प्रविधि र बजारमा आएका नयाँ सामग्रीसँगै मानिसको जीवनशैली बदलिँदै गएको छ। तर, पोटरी स्क्वायरमा घुमिरहेको माटोको चक्रले एउटा पुरानो सीप र संस्कृतिलाई अझै निरन्तरता दिइरहेको छ।
तिहारको झिलिमिलीमा विद्युतीय बत्ती थपिए पनि माटोको पालामा बल्ने दियोको महत्त्व भने यहाँका व्यवसायीका लागि अझै उस्तै छ।
तस्बिरहरू:
-1793759284.jpg)
-1793759284.jpg)
-1793759286.jpg)
-1793759286.jpg)

-1793759285.jpg)
-1793759285.jpg)
-1793759285.jpg)
-1793759285.jpg)
-1793759285.jpg)
-1793759285.jpg)
-1793759285.jpg)
-1793759285.jpg)
-1793759284.jpg)
-1793759284.jpg)