दक्षिणकाली नगरपालिका–१, फर्पिङमा रहेको फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो तथा दक्षिण एसियाकै दोस्रो जलविद्युत आयोजना हो।
नेपालमा आधुनिक विद्युत उत्पादनको सुरूआत गराएको यो ऐतिहासिक केन्द्र आज देशको ऊर्जा इतिहासको एक महत्त्वपूर्ण सम्पदाका रूपमा जीवित छ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणाको पहलमा सन् १९०७ मा यसको निर्माण सुरू गरिएको थियो। विसं १९६८ जेठ ९ बाट विधिवत सञ्चालनमा आएको यस आयोजनाबाट सुरूमा २५०–२५० किलोवाटका दुईवटा टर्बाइनमार्फत कुल ५०० किलोवाट विद्युत उत्पादन गरिएको थियो।
सतमूल र शेषनारायण क्षेत्रका मुहानको पानी प्रयोग गरी सञ्चालित यस आयोजनाबाट उत्पादित बिजुली सुरूमा राणा दरबार, सरकारी कार्यालय र काठमाडौंका केही सडक बत्ती बाल्न प्रयोग गरिएको थियो।
यही आयोजनामार्फत काठमाडौंवासीले पहिलो पटक बिजुलीको उज्यालो देख्न पाएका थिए।
स्थापनाको एक शताब्दीभन्दा बढी समय बितिसक्दा पनि यसको ऐतिहासिक गरिमा उत्तिकै छ। सन् २०१० मा यसलाई 'लिभिङ म्युजियम' (जीवित संग्रहालय) घोषणा गरियो।
हाल नेपाल विद्युत् प्राधिकरणले यसको संरक्षण गरिरहेको छ भने सरकारले यसलाई ऊर्जा संग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको छ।
यसै सन्दर्भमा पर्यटन प्रवर्द्धनका लागि यहाँ 'डाइमन्ड जुब्ली पार्क' समेत निर्माण गरिएको छ।
ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै सम्भावना बोकेको भए पनि उचित मर्मतसम्भारको अभावमा यो धरोहर बिस्तारै जीर्ण बन्दै गएको छ। पार्कका संरचनाहरू भत्किने अवस्थामा पुगेका छन् भने तत्कालीन समयका प्रशासनिक तथा आवासीय भवनहरू संरक्षण नपाएर खण्डहरमा परिणत हुँदैछन्। मुख्य परियोजनाका मेसिनहरू भने अझै पनि सुरक्षित अवस्थामै छन्।
समयक्रमसँगै यहाँबाट विद्युत उत्पादन बन्द भए पनि यो आयोजना अझै पूर्ण रूपमा मृत भने भइसकेको छैन। यहाँ संकलन हुने पानीलाई हाल ललितपुरका विभिन्न स्थानमा खानेपानीका रूपमा वितरण गरिँदै आएको छ।
सय वर्षभन्दा लामो यात्रा तय गरिसकेको फर्पिङ जलविद्युत आयोजना आज देशको ऊर्जा विकासको एउटा जीवित इतिहास त बनेको छ, तर यसले आफ्नो अस्तित्व जोगाउन थप संरक्षण र सम्बर्द्धनको पर्खाइ गरिरहेको देखिन्छ।
-1782615636.jpg)
-1782615637.jpg)
-1782615636.jpg)
-1782615636.jpg)
-1782616481.jpg)
-1782616481.jpg)
-1782615636.jpg)
-1782615636.jpg)
-1782615636.jpg)
-1782615635.jpg)
-1782615635.jpg)
-1782615635.jpg)
-1782615635.jpg)