मलेसियाको FWCMS प्रणालीमा आबद्ध व्यवसायीहरूको समूहले संघको नेतृत्व व्यवसायीको हित संरक्षणभन्दा विभाजन र दबाब सिर्जना गर्न केन्द्रित भएको आरोप लगाएको छ।
मलेसियाको FWCMS प्रणालीअन्तर्गत छनोट भएका २५ PRAS (Principal Recruitment Agency) र २५० ARS (Associate Recruitment Agency) गरी २७५ वैदेशिक रोजगार व्यवसायीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान नेतृत्वप्रति आपत्ति जनाएका छन्।
‘व्यवसायीमाथिको विभेद र संघको वर्तमान नेतृत्वको गैरजिम्मेवार भूमिकाप्रति हाम्रो गम्भीर आपत्ति’ शीर्षकमा जारी प्रेस विज्ञप्तिमा उनीहरूले संघको नेतृत्वले व्यवसायीहरूको साझा हित संरक्षण गर्नुको सट्टा व्यवसायीबीच विभाजन र अविश्वास सिर्जना गरेको आरोप लगाएका छन्।
विज्ञप्तिमा मलेसिया नेपाली श्रमिकका लागि महत्त्वपूर्ण रोजगार गन्तव्य रहेको उल्लेख गर्दै त्यहाँबाट आउने रेमिट्यान्सले नेपालको अर्थतन्त्र, विदेशी मुद्रा सञ्चिति र श्रमिकका परिवारको आर्थिक अवस्थालाई महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको जनाइएको छ।
विज्ञप्तिमा उनीहरूलाई कुनै छुट्टै समूह वा गैरव्यवसायीका रूपमा व्यवहार गर्न नहुने बताइएको छ। आफूहरू उक्त समूहका मात्रै नभई समग्र वैदेशिक रोजगार व्यवसायीहरूको हकहित, सम्मान र एकताको पक्षमा रहेको उनीहरूले स्पष्ट पारेका छन्।
संघको वर्तमान नेतृत्वले विगतमा व्यवसायीहरूले संघको संस्थागत विकास, भवन खरिद तथा निर्माण र विभिन्न गतिविधिमा पुर्याएको योगदानलाई बेवास्ता गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ। व्यवसायीहरूसँग संवाद नगरी केही पदाधिकारीले व्यवसायीलाई एक समूहविरुद्ध अर्को समूहका रूपमा उभ्याउने गतिविधि गरेको भन्दै उनीहरूले त्यसको निन्दा गरेका छन्।
संघ व्यवसायीहरूको साझा संस्था भएको भन्दै विज्ञप्तिमा व्यवसायीविरुद्ध सरकारी निकाय तथा सरोकारवाला संस्थाहरूमा पत्राचार गर्ने, पक्राउ तथा कारबाहीका लागि दबाब सिर्जना गर्ने र व्यवसायीलाई अपराधीका रूपमा प्रस्तुत गर्ने प्रयास स्वीकार्य नहुने उल्लेख छ।
FWCMS प्रणालीसँग सम्बन्धित विषय नेपाल र मलेसिया सरकारबीचको श्रम सम्झौता, कूटनीतिक संवाद तथा आपसी समन्वयबाट समाधान गर्नुपर्ने उनीहरूको धारणा छ। व्यवसायीबीचको द्वन्द्वका रूपमा प्रस्तुत गरेर समस्या समाधान नहुने विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित निकायले आफ्नो धारणा स्पष्ट पार्न भनेपछि आफूहरूले FWCMS प्रणालीमा आबद्ध नरहने र उक्त प्रणालीबाट नाम हटाउन आवश्यक प्रतिबद्धता, विवरण तथा कागजात उपलब्ध गराएको उनीहरूले दाबी गरेका छन्। प्रणालीको आधिकारिक इमेलमार्फत समेत अलग हुने जानकारी गराएको उल्लेख गर्दै त्यसपछि पनि पक्राउ पुर्जी जारी गर्ने तथा पक्राउ र धरपकडको प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ।
आफ्नो कानुनी अधिकार संरक्षण तथा निष्पक्ष सुनुवाइको माग गर्दै सर्वोच्च अदालत पुगेको उल्लेख गर्दै विज्ञप्तिमा अदालत जाने निर्णय कुनै संस्था वा व्यक्तिविरुद्ध प्रतिशोध नभई कानुनी उपचार खोज्ने प्रक्रिया भएको स्पष्ट पारिएको छ।
केही व्यवसायी पक्राउ परी थुनामा रहनुपरेको भन्दै उनीहरूले व्यवसायीलाई अपराधीसरह व्यवहार गरिएकोप्रति दुःख व्यक्त गरेका छन्। संघका अध्यक्ष डिकबहादुर खत्रीले संघसँग प्रत्यक्ष सम्बन्ध नरहेको विषयमा व्यवसायीहरूलाई थप कानुनी संकटमा पार्ने आशयले अदालतमा निवेदन दिएको भन्दै विज्ञप्तिमा त्यसप्रति पनि आपत्ति जनाइएको छ।
व्यवसायीका समस्या समाधानमा नेतृत्व निष्क्रिय रहेको आरोप
विज्ञप्तिमा संघको वर्तमान नेतृत्वले व्यवसायीका वास्तविक समस्याहरू समाधान गर्न प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाइएको छ।
व्यवसायीहरूले प्राप्त गर्नुपर्ने सेवा शुल्क, हवाई टिकटको मूल्यवृद्धि, नेपाली दूतावासहरूमा कागजात प्रमाणीकरणमा हुने ढिलाइ, युरोपेली मुलुकका लागि आवश्यक कागजातको अटेस्टेसन, नयाँ रोजगार गन्तव्यको खोजी तथा विस्तार, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिका प्रक्रियामा देखिएका प्रशासनिक जटिलता र सरकारी निर्देशनमा रहेको नीतिगत अस्पष्टतालगायत विषय समाधान गर्न संघले पहल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, साउदी अरबमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूका लागि SBP प्रक्रिया सुरु तथा कार्यान्वयन हुन नसक्दा मागपत्र प्रमाणीकरण, श्रमिक पठाउने प्रक्रिया र व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै त्यसको समाधानका लागि संघले सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने माग गरिएको छ।
व्यवसायीका यस्ता समस्या समाधान गर्नुपर्ने संघको नेतृत्व एउटा विषयलाई प्रतिष्ठाको लडाइँ बनाउँदै व्यवसायीबीच विभाजन सिर्जना गर्न केन्द्रित भएको आरोप उनीहरूले लगाएका छन्।
व्यवसायीहरूको बृहत् भेला आयोजना गर्ने घोषणा
विज्ञप्तिमा आफूहरू २७५ व्यवसायीको मात्रै नभई समग्र वैदेशिक रोजगार व्यवसायीहरूको हकहित, सम्मान, सुरक्षा र स्वतन्त्र व्यवसाय सञ्चालनको अधिकारको पक्षमा रहेको उल्लेख गरिएको छ।
संघको नेतृत्वले व्यवसायीलाई विभाजित गर्ने नभई एकजुट बनाउने, हतोत्साहित गर्ने नभई संरक्षण गर्ने र व्यवसायीविरुद्ध पत्राचार गर्ने नभई उनीहरूका समस्या समाधानका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ।
वर्तमान नेतृत्वले व्यवसायीहरूको साझा समस्या समाधान गर्नुको सट्टा विभाजन, अविश्वास र द्वन्द्व सिर्जना गर्ने गतिविधिलाई निरन्तरता दिए संघको नेतृत्वको औचित्यमाथि प्रश्न उठ्ने विज्ञप्तिमा उल्लेख छ।
आम वैदेशिक रोजगार व्यवसायीहरूको बृहत् भेला आयोजना गरी संघभित्र सच्याउनुपर्ने विषय, व्यवसायीका साझा समस्या र आगामी कदमबारे छलफल गर्ने घोषणा पनि विज्ञप्तिमा गरिएको छ।