शुक्रबार दिउँसो भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरबाट सरकारले सुकुम्बासीलाई निकाल्न लागेको खबर पाएपछि ४५ वर्षीया पुनम पासवानका मनमा अनेक कुरा खेलिरहेका थिए।
त्यही बेला उनलाई अर्को खबर आयो — स्कुल बसले आज उनका छोरीहरूलाई होल्डिङ सेन्टरसम्म ल्याइदिने भएन। आफै लिन जानुपर्ने भयो।
बिहान तीन छोरीलाई भोकभोकै स्कुल पठाएकी पुनमसँग उनीहरूलाई लिन जाने गाडी भाडासमेत थिएन।
एकातिर होल्डिङ सेन्टर खाली गराउन प्रहरी आइसकेका थिए। अर्कातिर स्कुलबाट छोरीहरूलाई लिन आउनू भनेर फोन आइरहेको थियो।
छोरीहरूलाई स्कुलबाट कसरी ल्याउने? ल्याएर कहाँ राख्ने? के खुवाउने?
'मेरा तीन छोरीको बिचल्ली भयो,' यति भन्दै पुनम रून थालिन्।
चार छोरा र चार छोरीकी आमा पुनमले आफ्ना सन्तानको भविष्यका निम्ति दुई दशकदेखि काठमाडौंमा संघर्ष गरिरहेकी छन्।
गाउँमा ज्याला–मजदुरी गरेर जोडेको जग्गा बैंकले लिलाम गरिदियो। श्रीमानले तीनपटक विदेश जाँदा कमाउनुभन्दा उल्टै ऋण बोकेर फर्किनुपर्यो। काठमाडौंमा श्रीमान–श्रीमती दुवैले काम गरेर आठ सन्तान हुर्काए। १५ लाख रूपैयाँसम्म पुगेको ऋण घटाएर दुई लाखमा झारे।
ऋणबाट मुक्त हुने दिन नजिकिँदै गर्दा सरकारले थापाथलीको सुकुम्बासी बस्तीमा रहेको उनीहरूको घर भत्काइदियो।
त्योसँगै पुनमको रोजगारी पनि गुम्यो। छोराछोरीको पढाइ प्रभावित भयो। दुई दशकको संघर्षपछि अलिअलि सहज बन्दै गएको उनको जीवन फेरि संकटमा पर्यो।
सरकारले पुनमको परिवारलाई भूमिहीन ठहर गरेको छ। उनीहरूलाई रौतहटको गुजरा नगरपालिका–७ मा जग्गा उपलब्ध गराउने भनी सूचना जारी गरेको छ। तर जुन गाउँमा गुजारा चलाउन नसकेर दुई दशकअघि काठमाडौं आएका थिए, त्यही गाउँमा फर्केर अब कसरी गुजारा चलाउने भन्ने चिन्तामा छन् पुनम र उनका श्रीमान अच्छेलाल पासवान।
उनीहरूको जीवनको संघर्ष रौतहटबाटै सुरू भएको हो।
रौतहटको चन्द्रनिगापुर क्षेत्रमा बस्दै आएका पुनम र अच्छेलालको पुर्ख्यौली जग्गा खासै थिएन। उनीहरू सरकारी जग्गामा घर बनाएर बसेका थिए। अरूको खेतबारीमा काम गरेर, ज्याला–मजदुरी गरेर गुजारा चलाउँथे। त्यसरी कमाएको पैसाले परिवार पाल्नै धौधौ हुन्थ्यो।
कमाइले नपुगेपछि ऋण लिनुपर्थ्यो। ऋण तिर्न फेरि ऋण लिनुपर्थ्यो।
गाउँमा गुजारा चलाउन मुस्किल हुँदै गएपछि पुनमका श्रीमान अच्छेलाल कामको खोजीमा काठमाडौं आए। त्यसको दुई–तीन महिनापछि पुनम पनि दुई सन्तान लिएर काठमाडौं आइन्।
उनीहरूले थापाथलीको सुकुम्बासी बस्तीमा घर बनाए।
अच्छेलालले गार्मेन्ट कारखानामा ज्याला–मजदुरीको काम पाए। पुनमले पनि दुई–तीनवटा घरमा घरेलु काम गर्न थालिन्।
श्रीमान–श्रीमती दुवैले कमाउन थालेपछि परिवार चलाउन केही सहज भयो।
काठमाडौं आएपछि पुनमले थप छ जना सन्तान जन्माइन्। उनीहरूको परिवार ठूलो हुँदै गयो। छोराछोरी हुर्किँदै गए। उनीहरूको पढाइ खर्च र घरखर्च पनि बढ्दै गयो।
परिवार पाल्नुका साथै ऋण तिर्नुपर्ने जिम्मेवारी पनि थियो।
करिब १० वर्षअघि पुनमका श्रीमानले विदेश जाने निधो गरे। विदेशमा राम्रो कमाइ गर्न सके ऋण पनि तिरिन्थ्यो, छोराछोरीलाई पढाउन पनि सजिलो हुन्थ्यो भन्ने आशा थियो।
तर वैदेशिक रोजगारीको अनुभव उनीहरूले सोचेजस्तो भएन।
अच्छेलाल एकपटक दुबई र दुईपटक मलेसिया गए। एजेन्टले ठगेको र भनेजस्तो काम नपाएका कारण विदेशको कमाइले ऋण घट्नुको साटो उल्टै ऋण बढेको पुनम बताउँछिन्।
परिवारको आर्थिक अवस्था झन् कमजोर हुँदै गयो।
गाउँमा ज्याला–मजदुरी गरेर उनीहरूले एक कट्ठा घडेरी र केही खेतीयोग्य जग्गा किनेका थिए। ऋण र बैंकको किस्ता तिर्न नसकेपछि करिब छ–सात वर्षअघि बैंकले त्यो जग्गा पनि लिलाम गरिदियो।
अब गाउँ फर्केर आफ्नै जग्गामा घर बनाएर बस्ने बाटो पनि रहेन।
विभिन्न समयमा लिएको ऋणको साँवा र ब्याज बढ्दै जाँदा करिब १५ लाख रूपैयाँ पुगेको पुनम बताउँछिन्।
त्यो ऋण घटाउन उनीहरूले काठमाडौंमा वर्षौं मेहनत गरे। अच्छेलालले गार्मेन्टमा मजदुरी गरिरहे। पछिल्लो दुई–तीन वर्षयता उनले गार्मेन्टमै मेसिनबाट कपडा सिलाउने काम गर्न थालेका थिए।
पुनम पनि घरघरमा काम गर्थिन्।
यसरी दुवैले कमाएको पैसाबाट घरखर्च धान्दै, छोराछोरी पढाउँदै र अलिअलि गर्दै ऋण तिर्दै आएका थिए।
१५ लाख रूपैयाँसम्म पुगेको ऋण अहिले करिब दुई लाखमा झरेको छ।
पुनमको अर्को चिन्ता भने छोरीको बिहे हो।
जेठी छोरीको बिहे भइसकेको छ। अर्की छोरीको बिहेको कुरा चलेको पनि दुई वर्ष भयो। तर दाइजो र बिहे खर्चको जोहो गर्न नसकेका कारण बिहे हुन नसकेको उनी बताउँछिन्।
एकातिर बाँकी ऋण तिर्नुपर्ने छ, अर्कातिर छोरीको बिहे गर्नुपर्ने छ। काठमाडौंमा काम गरेर कमाउँदै जाँदा कुनै दिन यी समस्या पनि समाधान होलान् भन्ने आशा थियो उनलाई। थापाथलीको बस्तीबाट सरकारले हटाएपछि भने पुनमको कमाइको बाटो नै बन्द भयो।
बस्तीबाट विस्थापित भएपछि पुनमको परिवारलाई सुरूमा कीर्तिपुरतिरको होल्डिङ सेन्टरमा राखिएको थियो। अहिले उनीहरू भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टरमा छन्।
१५ दिनका लागि भनेर अस्थायी आश्रयस्थलमा ल्याइएका सुकुम्बासीको बसाइ आठ महिना पुगिसकेको छ।
थापाथलीमा बस्दा काम गर्ने घरहरूसँग पुनमको सम्पर्क टुटेको छ। अहिले उनीसँग रोजगारी छैन। आफ्नो कमाइ गुमेकोभन्दा पनि उनलाई छोराछोरीको पढाइ बिग्रिने हो कि भन्ने चिन्ता छ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै गर्दा सरकारले छोराछोरीको पढाइ र होस्टेलको व्यवस्था मिलाइदिने भनेको थियो। उनका एक जना सन्तानलाई होस्टेलमा भर्ना पनि गरियो। अहिले भने विद्यालयले केही शुल्क तिर्न भनेको उनी बताउँछिन्।
अरू सन्तानको पढाइका निम्ति पनि व्यवस्था मिलाइदिने भनिएको थियो। त्यो कार्यान्वयन भएको छैन।
पुनमका चार जना सन्तान कालीमाटीको परोपकार स्कुलमा पढ्छन्।
थापाथलीबाट विस्थापित भएर भक्तपुर पुगेपछि उनीहरूलाई विद्यालय पठाउन र ल्याउन पनि समस्या हुन थालेको छ।
यही अनिश्चितताबीच मंसिर ९ गते बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्नू भन्दै सूचना टाँस्यो। त्यसको भोलिपल्ट साँझ प्रहरीले शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्नू भन्दै माइकिङ गर्यो।
होल्डिङ सेन्टरमा बिहान–बेलुका खाना खुवाउँदै आएको टोली पनि बिहीबार साँझ नै फर्कियो। थापाथलीमा बस्दा आफ्नै कमाइले आठ सन्तानको पेट भर्दै आएकी पुनमले शुक्रबार बिहान छोरीहरूलाई खाना खुवाउन सकिनन्।
कान्छो छोरा बिरामी भएकाले उनलाई विद्यालय पठाइनन्। अरू तीन छोरी बिहान स्कुल बस आएपछि भोकभोकै विद्यालय गए।
दिउँसो छोरीहरूलाई लिन आउनू भनेर विद्यालयबाट फोन आएपछि पुनम आत्तिइन्।
त्यति बेलासम्म होल्डिङ सेन्टर खाली गराउन आएका प्रहरी भित्र पसिसकेका थिए। पुनम भने छोरीहरूलाई विद्यालयबाट कसरी ल्याउने भनेर त्यहाँ उपस्थित मानिसहरूसँग हारगुहार गरिरहेकी थिइन्।
दिउँसो चार बजेसम्म पनि उनको समस्या समाधान भएको थिएन।
'जाने ठाउँ कहीँ छैन। ओत लाग्ने ठाउँ कतै छैन। यसै जाऊ भन्छ,' उनले भनिन्, 'मर्न तयार छौं, तर विकल्प नभएसम्म यहाँबाट एक इन्च पनि निस्किँदैनौं। ससाना छोराछोरीलाई लिएर कहाँ जानु?'
सरकारले उनलाई रौतहट फर्किन भनेको छ। रौतहट फर्केर फेरि ज्याला–मजदुरी गर्न सक्ने उमेर र अवस्था नरहेको उनी बताउँछिन्। त्यहाँ आफ्नै घर छैन। खेती गर्न जग्गा पनि छैन।
पछिल्लो छठमा गाउँ गएकी पुनमले अरूकै घरमा बसेर व्रत पूरा गरिन्। कुनै बेला आफैले घडेरी र खेती गर्ने जग्गा जोडेको गाउँमा अहिले चाडपर्व मनाउन जाँदा पनि अरूको घरमा आश्रय लिनुपरेको छ।
काठमाडौंमा भने दुई दशक बिताएको थापाथलीको घर पनि रहेन।
पुनमलाई आफ्नो बाँकी जीवनभन्दा छोराछोरीको भविष्यको बढी चिन्ता छ। गाउँमा आफूहरूले भोगेजस्तो अभाव छोराछोरीले भोग्न नपरोस् भनेर उनीहरू काठमाडौं आएका थिए। आफूहरूले ज्याला–मजदुरी गरेर भए पनि छोराछोरीलाई पढाएका थिए।
आठ सन्तानमध्ये छ जनाको जन्म थापाथलीको त्यही सुकुम्बासी बस्तीमा भएको थियो। उनीहरूले चिनेको घर त्यही थियो। उनीहरू हुर्केको ठाउँ त्यही थियो। उनीहरूका साथीभाइ र विद्यालय पनि यही सहरमा छन्।
अहिले सरकारले गाउँ फर्किन भनिरहँदा छोराछोरीको पढाइ के हुने हो, उनीहरूले भविष्यमा के गर्ने हुन् भन्ने प्रश्नले पुनमलाई सताइरहेको छ।
शुक्रबार साँझ पौने पाँच बजेतिर प्रहरी होल्डिङ सेन्टरबाट फर्कियो। पुनमको परिवारले त्यो रात होल्डिङ सेन्टरमै बिताउन पायो।
तर कतिन्जेल?
आइतबार विद्यालय बिदा भएकाले छोराछोरी उनीसँगै छन्। पुनम भने आफ्ना सन्तानको भविष्य सम्झेर चिन्तित छिन्।
दुई दशकअघि उनी र उनका श्रीमान काठमाडौं आउँदा ऋण थियो, तर काम गरेर तिर्न सक्छौं भन्ने विश्वास पनि थियो।
उनीहरूले आठ सन्तान यहीँ हुर्काए। पढाए। वर्षौं काम गरेर १५ लाख रूपैयाँसम्म पुगेको ऋण दुई लाखमा झारे। अब दुई लाख रूपैयाँ ऋण तिरेपछि ऋणमुक्त हुनेछन् पुनम र अच्छेलाल।
तर त्यसपछि ऋणमुक्त भएको खुसी मनाउने आफ्नै घर कहाँ हुनेछ, उनीहरूलाई थाहा छैन।
***