दलमर्दन कामीले जीवनमा दुईपटक आफ्नो परिचय गुमाए।
पहिलोपटक, जातीय विभेदबाट बच्न उनले आफै आफ्नो परिचय लुकाएका थिए।
गाउँबाट काठमाडौं आएपछि केही समय उनी दलमर्दन कामी होइन, गणेश कार्की बनेर बाँचेका थिए।
दोस्रोपटक, सरकारले नै उनको परिचय खोसिदिएको छ।
ज्यान जोगाउन पुर्ख्यौली जग्गासमेत बेचेर थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएका दलमर्दनलाई सरकारले अहिले सुकुम्बासी मान्न अस्वीकार गरेको छ।
त्यसको कारण हो — उनले पाँच–छ वर्षअघि बेचिसकेको १३ धुर जग्गा।
'मलाई सबैले मर्छ भनेका थिए, अप्रेसन गरेर बाँचेँ,' भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा भेटिएका दलमर्दनले सेतोपाटीसँग भने, 'सरकारले मेरो पुरानो १३ धुर जग्गा देखायो। १३ धुर भनेको एक कट्ठा पनि होइन। एकपल्ट पनि नसोधी, संवादै नगरी कागजको भरमा सुकुम्बासी होइन भनेर निकाल्न मिल्छ?'
दलमर्दनको जीवनका पछिल्ला तीन दशक कहिले जातीय विभेदविरूद्ध, कहिले रोगविरूद्ध त कहिले आर्थिक अभावविरूद्ध संघर्ष गर्दै बितेका छन्।
गलैंचा बुन्ने कामदारदेखि पत्रकार र राजनीतिक अधिकारको आन्दोलनमा समेत लागेका दलमर्दन यतिखेर आफ्नो बसोबासको अधिकार निम्ति सरकारसँग लडिरहेका छन्। उनको जीवनमा आइपरेको यो परिस्थितिले सरकारले सुकुम्बासी पहिचान गर्न अपनाएको प्रक्रियामाथि पनि एउटा प्रश्न उठाएको छ— विगतमा जग्गा भएको मानिस वर्तमानमा भूमिहीन हुन सक्दैन?
दलमर्दनको जन्म २०२९ सालमा तेह्रथुमको तत्कालीन दाँगपा गाविसमा भएको हो। सात दाजुभाइमध्ये उनी काइँला हुन्।
उनको बाल्यकाल गाउँमै बित्यो। आठ कक्षा पढ्न उनी घरबाट चार घन्टाको उकालो बाटो हिँडेर तेह्रथुमकै वसन्तपुर बजार पुगेका थिए। त्यहाँको श्री वसन्त माध्यमिक विद्यालयमा भर्ना भएर होस्टेलमा बस्न थालेका थिए।
तल्लो कक्षामा पढ्दा उनले अरू साथीहरूसँग एउटै बेन्चमा बस्न नपाउनेजस्ता जातीय विभेद भोगेका थिए। उमेर बढ्दै जाँदा ती कुरा बिस्तारै भुल्दै पनि गएका थिए।
एक दिनको घटनाले भने उनलाई गाउँमै बस्न मन नलाग्ने बनाइदियो।
त्यति बेला उनी १५–१६ वर्षका थिए।
होस्टेलमा चामल सकिएपछि उनी चामल लिन घर जाँदै थिए। बाटोमा आफ्नै गाउँका एक जना छिमेकी काका भेटिए।
ती काकाले दलमर्दनलाई देख्नेबित्तिकै जातीय विभेदपूर्ण शब्द प्रयोग गर्दै गाली गरे। दलमर्दनको मुख देखेर आफ्नो साइत बिग्रिएको बताए।
यसअघि अरूलाई त्यस्तो भनेको सुनेका थिए उनले। आफैलाई भनेपछि सहन गाह्रो भयो।
उनी रूँदै घर फर्किए।
एक साता घरमै बसेर उनी फेरि स्कुल गए। तर पढाइमा मन लागेन। गाउँमा बस्न पनि मन लागेन।
उनी फेरि घर फर्किए।
त्यसपछि एक दिन आफ्ना मितबुबाका छोराहरू काठमाडौं आउन लागेको थाहा पाए। उनी पनि उनीहरूसँगै काठमाडौं आए। यो २०४९ सालतिरको कुरा हो।
काठमाडौं आएपछि पनि जातीय विभेदको डरले उनलाई छाडेको थिएन। थापाथलीको गणेशथान नजिकै सूर्य कार्पेटमा गलैंचा बुन्ने काम पाएपछि उनले आफ्नो नाम बताए— गणेश कार्की।
केही समय यही नामले काम गरे। पछि भने उनलाई आफ्नो परिचय ढाँटिरहन मन लागेन। आफ्नो वास्तविक नाम र थर खुलाए। सबैसँग मिलेर काम गर्न थाले। गलैंचा बुन्नुका साथै कुलेश्वरको स्कुलमा आफ्नो पढाइ पनि अघि बढाए।
करिब चार वर्ष उनले गलैंचा बुन्ने काम गरे।
त्यसै क्रममा २०५१ सालमा उनको अन्तरजातीय विवाह भयो। पछि एक छोरा र एक छोरी जन्मिए।
गाउँ छाडेर काठमाडौं आएका दलमर्दनको आफ्नै परिवार बनेको थियो। कमाइको बाटो पनि थियो। तर त्यसको केही समयमै उनको जीवनमा अर्को संकट आइलाग्यो।
उनी बिरामी परे।
२०५३ सालतिर वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको मुटुको भल्भमा समस्या देखियो।
त्यति बेला नेपालमा मुटुको शल्यक्रियाको सुविधा अहिलेजस्तो थिएन। उपचारको खोजी गर्न र दाजुभाइको साथ पाउन उनी धरान गए। उनका दाजुभाइहरू पहिलेदेखि नै त्यहाँ काम गरेर बस्दै आएका थिए।
धरान पुगेपछि बिरामी शरीर लिएर त्यसै बसिरहन उनलाई मन लागेन।
उनले पत्रकारिता सुरू गरे।
सुरूमा 'जनसुधार' साप्ताहिकमा काम गरेका दलमर्दनले २०५५ सालतिर आफ्नै पत्रिका दर्ता गरे— 'जागरूक साप्ताहिक'।
गाउँमा आफैले भोगेको जातीय विभेदविरूद्ध आवाज उठाउने माध्यम बन्यो उनको पत्रिका। दलित समुदायका हकअधिकारका मुद्दालाई प्राथमिकता दिँदै उनले करिब छ–सात वर्ष त्यो पत्रिका चलाए।
२०६२ सालतिर उनी फेरि काठमाडौं फर्किए।
दलित तथा उत्पीडित समुदायका मुद्दालाई केन्द्रबाटै अझ सशक्त रूपमा उठाउने उद्देश्य थियो उनको।
काठमाडौं फर्केपछि उनी थापाथलीको सुकुम्बासी बस्तीमा बस्न थाले। यसअघि काठमाडौंमा छँदा पनि उनी त्यही बस्ती आसपास बस्दै आएका थिए।
काठमाडौंमा उनले 'युग परिवर्तन साप्ताहिक' नामको अर्को पत्रिका दर्ता गरे। आर्थिक कठिनाइ र आफ्नै स्वास्थ्य समस्याका कारण एक–दुई वर्षभन्दा बढी त्यो पत्रिका चलाउन सकेनन्।
पत्रकारिता गर्दै सामाजिक आन्दोलनमा लागेका दलमर्दन त्यसपछि राजनीतिमा पनि सक्रिय भए।
पहिलो संविधानसभा बेला जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै उनी आन्दोलनमा सहभागी भए। संयुक्त जातीय मुक्ति मोर्चाको प्रवक्ताका रूपमा सरकारसँगको वार्तामा समेत सहभागी भए।
पहिलो संविधानसभा विघटनपछि विभिन्न राजनीतिक दलबाट अलग भएका आदिवासी जनजाति तथा दलित नेताहरूसँग मिलेर उनले सामाजिक लोकतान्त्रिक पार्टी गठन गरे।
डा. चैतन्य सुब्बा, कुमार राई, बमकुमारी बुढामगर लगायत सहभागी उक्त पार्टीको अध्यक्ष मण्डलको नेतृत्व आफूले गरेको उनी बताउँछन्।
२०७२ सालमा संविधान जारी भएपछि डा. बाबुराम भट्टराईले सुरू गरेको नयाँ शक्ति अभियानसँग उनीहरूको पार्टी जोडियो। उनी नयाँ शक्ति पार्टी हुँदै जनता समाजवादी पार्टीको केन्द्रीय नेतृत्वमा पनि पुगे।
पछि उत्पीडित समुदायले आफ्नै नेतृत्वमा राजनीतिक शक्ति निर्माण गर्नुपर्छ भन्ने सोचसहित छुट्टै अभियान सुरू गरे। सामाजिक एकता पार्टीसँग एकीकरण गरी संयुक्त नागरिक पार्टी गठन गरे। अहिले उनी उक्त पार्टीका वरिष्ठ नेताका रूपमा सक्रिय छन्।
यी सबै राजनीतिक र सामाजिक संघर्षबीच दलमर्दनको शरीरभित्र भने अर्को संघर्ष चलिरहेको थियो।
मुटुको समस्या पत्ता लागेको झन्डै दुई दशक भइसकेको थियो। रोग झन् झन् जटिल बन्दै गएको थियो।
२०७२–७३ सालतिर अवस्था यस्तो भयो, शल्यक्रिया नगरी नहुने भयो।
उनी उपचारका लागि भारत गए।
मुटुको समस्या देखिएदेखि उपचारका विभिन्न चरण पार गर्दासम्म उनको ठूलो धनराशि खर्च भइसकेको थियो। उनका अनुसार उपचारमा करिब ३८ लाख रूपैयाँ खर्च भयो।
उपचारपछि दलमर्दनको ज्यान त जोगियो, तर ऋणको भारीले थिच्यो।
परिवारको आर्थिक भार बढ्दै गएपछि उनका छोराछोरीले पनि पढाइसँगै काम गर्न थाले।
दलमर्दनका बुबाआमा तेह्रथुमबाट बसाइँ सरेर मोरङ आएका थिए। मोरङमा उनीहरूले जोडेको सम्पत्तिबाट दलमर्दनको भागमा १३ धुर जग्गा परेको थियो। त्यो नै उनको नाममा भएको जग्गा थियो।
उपचारमा लागेको ऋण र दैनिक जीवन धान्नुपर्ने बाध्यताबीच पाँच–छ वर्षअघि उनले त्यो जग्गा पनि बेचे। उनको ऋण अझै चुक्ता भएको छैन।
अहिले उनका छोरा र छोरी दुवै काम गर्छन्। श्रीमती पनि काम गर्छिन्। कमजोर स्वास्थ्यका बाबजुद उनी भने परिवारकै साथ र सहयोगमा सुकुम्बासी तथा उत्पीडित समुदायका हकअधिकारको आन्दोलनमा सक्रिय छन्।
आफ्नो जीवनको झन्डै दुई दशक बिताएको थापाथलीको सुकुम्बासी बस्ती सरकारले भत्काइदिएपछि दलमर्दनको आश्रयस्थल बनेको छ— भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र।
१५ दिनका लागि भनेर सरकारले होल्डिङ सेन्टरमा ल्याएका सुकुम्बासीको यहाँको बसाइ आठ महिना पुगिसकेको छ।
यसबीच सरकारले उनीहरू वास्तविक भूमिहीन हुन् कि होइनन् भनेर पहिचान गरेको छ।
दलमर्दनका अनुसार सरकारले उनको नाममा विगतमा भएको १३ धुर जग्गाको अभिलेख भेट्टायो। त्यही अभिलेखका आधारमा उनलाई भूमिहीन ठहर गरेन। आफूले त्यो जग्गा कुन परिस्थितिमा बेच्नुपरेको थियो भनेर सरकारले एकपटक पनि नसोधेको उनी बताउँछन्।
उनको प्रश्न छ— जग्गा बेचेको अभिलेख भेट्ने सरकारले त्यो जग्गा बेचेर अहिले आफूसँग के बाँकी छ भन्ने पनि हेर्नुपर्दैन?
दलमर्दन यो प्रश्न आफ्नो हकमा मात्र उठाइरहेका छैनन्।
आफूजस्तै जीवनमा आइपरेका विभिन्न संकटका कारण घरजग्गा गुमाउन बाध्य भएका अरू नागरिकको हकमा पनि सरकारले यही प्रश्नको जबाफ दिनुपर्ने उनी बताउँछन्।
'पहिले कसैको एक आना, पाँच आना, चार आना वा पाँच–दस धुर जग्गा थियो होला,' दलमर्दनले भने, 'कोही बिरामी भएर त कोही साहुको ऋण तिर्न बेच्यो होला। अनि त्यो नागरिक चाहिँ बाँच्नै नपाउने, कहीँ बस्नै नपाउने हो त?'
सरकारले वास्तविक सुकुम्बासी पहिचान गर्न सम्बन्धित व्यक्तिको विगत मात्र होइन, वर्तमान अवस्था पनि बुझ्नुपर्ने उनको तर्क छ।
'कागजको भरमा वर्ग मापन गर्ने होइन, यथार्थ बुझेर गर्नुपर्छ,' उनले भने।
सरकारले भने भूमिहीन ठहर भएका र नभएका दुवैलाई आ–आफ्नो जिल्लामा फर्किन भनिरहेको छ।
तेह्रथुममा जन्मिएका दलमर्दनका बुबाआमा मोरङ बसाइँ सरेका थिए। दलमर्दन पनि आफन्तहरू भएको ठाउँ सुनसरीको धरान उपमहानगरपालिका–१७ मा बस्न पुगे। उनका छोराछोरीले पनि त्यहीँबाट नागरिकता लिएका छन्।
मोरङमा भएको पुर्ख्यौली जग्गा पनि बेचिसकेका दलमर्दन अहिले आफ्नै नाममा एक टुक्रा जग्गा भए देखाउन सरकारलाई चुनौती दिन्छन्।
'सरकारले मलाई दोषी देखेको भए झूटा विवरणको मुद्दा लगाएर कारबाही गरोस्। ज्यान लिओस्, जे सजाय दिन्छ भोग्न तयार छु,' उनले आक्रोश पोख्दै भने, 'अहिले मेरो नाममा एक टुक्रा जग्गा देखाओस्।'
आफूलाई भूमिहीन नमान्ने सरकारले अब उनको अस्थायी आश्रयस्थल पनि खाली गराउन खोजिरहेको छ।
मंसिर ९ गते बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्नू भन्दै सूचना टाँसेको थियो। त्यसको भोलिपल्ट साँझ प्रहरीले शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्नू भन्दै माइकिङ गरेको थियो।
होल्डिङ सेन्टरमा बिहान–बेलुका खाना खुवाउँदै आएको टोली पनि बिहीबार साँझ नै फर्किएको थियो। शुक्रबार बिहानदेखि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीले खाना पाएका थिएनन्।
दिउँसो १ बजेर २५ मिनेट जाँदा होल्डिङ सेन्टरको गेटअगाडि प्रहरीको एउटा गाडी आइपुग्यो। त्यसको १९ मिनेटपछि प्रहरीको अर्को गाडी आइपुग्यो।
बन्दुक बोकेका सुरक्षाकर्मी होल्डिङ सेन्टरभित्र पसेपछि त्यहाँ बसिरहेका सुकुम्बासीमा त्रास र आक्रोश बढ्दै गयो। दलमर्दन भने सरकारले आफूलाई सुकुम्बासी होइन भनेकै भरमा होल्डिङ सेन्टर नछाड्ने अडानमा थिए।
व्यापक दबाबपछि अहिले बोडेका सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाइएको छैन। शुक्रबार र शनिबार खाना खुवाउन बन्द गरेको सरकारले फेरि खुवाउन थालेको छ। तर अनिश्चय र अन्यौलको बादल हटिसकेको छैन।
कुनै बेला जातीय विभेदका कारण जन्मेको गाउँ छाडेका दलमर्दनले रोगका कारण आफ्नो पुर्ख्यौली जग्गा छाड्नुपर्यो। सरकारले सुकुम्बासी बस्ती भत्काइदिएपछि दुई दशक बिताएको थापाथली छाड्नुपर्यो।
अब उनीसँग छाड्न बाँकी त्यही अस्थायी आश्रयस्थल छ।
***