गोरखाको चुमनुब्री गाउँपालिका ६, चुम्चेतमा गएको पहिरोले बूढीगण्डकी नदीमा लेदोसहित बाढी आएको छ।
विङ्गिलुङ खोलामा सुरू भएको बाढी स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको थियो। विङ्गिलुङ र स्यार बूढीगण्डकीका सहायक खोला हुन्।
बाढीले बूढीगण्डकी नदी आसपासका बस्ती, पदमार्ग, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ।
अहिलेसम्म ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्।
बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
धादिङको त्रिपुरासुन्दरी र गोरखाको आरुघाटस्थित सोती र मान्बु जोड्ने पक्की पुल बगेको छ।
साथै आरूघाटस्थित मध्यपहाडी लोकमार्गमा पर्ने पुल पनि बूढीगण्डकीले बगाएको छ।
धार्चे गाउँपालिका १ हुल्चोक र ३ उहिया जोड्ने बेलिब्रिज पनि बगाएको छ।
यसैगरी, धार्चे ५ माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।
चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।
बाढीले चुमनुब्री गाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति भएको छ।
बेलाबेला बूढीगण्डकी थुनिने र ह्वात्तै लेदोसहित बाढी आउने गर्दा क्षति भएको स्थानीयहरूले बताएका छन्।
बेनिघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
बूढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।
चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ। बाढीसम्बन्धी जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।
तस्बिरहरू-






सबै तस्बिर- मनासलु संरक्षण क्षेत्र आयोजना।