मानसिक रूपमा तयार नहुँदा फाइनल गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रूविना क्षेत्रीले बताएकी छन्।
थाइल्याण्डमा सम्पन्न ‘थाइल्याण्ड टी–२० स्म्यास’ को उप-विजेता बनेको नेपाली महिला टिम आइतबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली महिला टिमका कप्तान रुवीना क्षेत्री र प्रशिक्षक विनोद दाशले उक्त कुरा बताएका हुन्।
उनीहरूले यो प्रतियोगिताबाट खेलाडीलाई मानसिक रुपमा बलियो बनाएको प्रतिक्रिया दिएका छन्।
१२ वर्षपछि पहिलो पटक उपाधि नजिक पुगेर उपविजेता बनेको नेपाली महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दाशले आफूहरूको केही लक्ष्य पुरा भए पनि उपाधि जित्न नसकेको बताए।
‘हामीले फाइनलमा पुग्ने लक्ष्यसहित थाइल्याण्ड गएका थियौ, हुन पनि त्यस्तै भयो, तर फाइनलमा थाइल्याण्ड हामी भन्दा निकै बलियो देखियो, चाहे त्यो मानसिक रुपमा होस या फिजिकल रूपमा त्यसैले हामी कमजोर देखियौ,’ दासले भने।
पछिल्लो पटक पूर्वी एसियामा महिला क्रिकेटमा थाइल्याण्डले धेरै सुधार गर्दै आफूलाई बलियो टोली बनाउँदै लगेको दासले बताए।
‘उनीहरुसँग नियमित प्रतियोगिताहरू छन्, हामी प्रतियोगिताको अगाडि मात्र प्रशिक्षण गर्छौ, त्यो पनि १५–२० दिनको प्रशिक्षण गरेर हामीले खेल्दा यत्रो सफलता पाउनु ठूलो कुरा हो। हामी निकै हौस्याएका छौ,’ उनले भने।
उनले समूह चरण र सेमिफाइनलमा लगातार राम्रो प्रदर्शन गरेको नेपाली खेलाडी थाइल्याण्डविरुद्ध मानसिक रुपमा केही दबावमा आएको बताए। ‘फाइनलमा घरेलु टोलीबिरूद्ध हाम्रा खेलाडीहरू केही दबाबमा आए। जसको असर टिमको प्रदर्शनमा पर्न गयो,’ उनले भने,‘तर यो प्रतियोगिताले हामीलाई एउटा पाठ सिकाएको छ, यसले आगामी प्रतियोगितामा ठूलो असर गर्नेछ। किनकी हामी ब्याटिङ र बलिङमा राम्रो देखियौ तर मेन्टली केही कमजोर रह्यौं।’
‘हामी केही दबाबमा थियौं। मेन्टल्ली तयार भएनौं। नर्भस पनि भयौं। त्यसैले फराकिलो हार व्यहोर्यौं। आगामी दिनमा हामी त्यसमा सुधार गर्नेछौ,’ उनले भने।
यस्तै उनले नेपाली टोली मानसिक र शारीरिक रूपमा बलियो हुनुपर्ने बताए। ‘हामी प्रतियोगिताको उपाधि जित्न सक्थ्यौ। थाइल्याण्डलाई हराउन सकिन्थ्यो, तर त्यसका लागि मानसिक रुपमा पनि फिट हुन निकै आवश्यक छ।’
उनले पछिल्लो पटक नेपालको क्रिकेटको अवस्था नै हतार हतारमा हुने भएकाले अर्को महिना हुने छनोट प्रतियोगिताका लागि केही होमवर्क गरेको छु। यस प्रतियोगितामा देखिएको कमजोरीलाई कम गर्दै क्वालिफायर्समा राम्रो गर्ने विश्वाससहित अबको तयारीमा जुट्ने उनले बताए।
यस्तै टिम कप्तान रूवीना क्षेत्रीले प्रतियोगितामा टिमको प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट भएको प्रतक्रिया दिइन्।
‘यो प्रतियोगिताबाट म निकै खुसी भएको छु। खेल हो जित हार त भइहाल्छ, सधै आइतबार हुन्न,’ उनले भनिन्,‘हामीले फाइनलमा केही दबाब महसुस गरेकाले प्रतियोगिता गुमाउनुपर्यो।’
प्रतियोगितामा राम्रो खेल्दा खेल्दै पनि घरेलु टोलीविरूद्ध खेल्दा कही कतै चुक्न पुगेको उनले बताइन्।
‘फाइनलमा हाम्रो टिम मानसिक रुपमा दबावमा आयो। सिनियर खेलाडी पनि मानसिक रुपमा फिट देखिएनन्। प्रतियोगितामा अरु टिमलाई हामी सहजै हराउछौ भन्ने मानसिकताका साथ मैदान उत्रिएका थियौं तर थाइल्याण्ड विरुद्ध पहिलाको नतिजाले पनि मानसिक रुपमा फरक पार्दो रहेछ,’ उनले भनिन्।
उनले छोटो प्रशिक्षण भए पनि राम्रो भएको प्रतिक्रिया दिइन्।
‘छोटो समय भए पनि हामीले राम्रै प्रशिक्षण गरेका थियौं, त्यही प्रशिक्षणको आधारमा टिमले यो नतिजा ल्याएको हो,’ उनले भनिन्।
उनले नेपालको महिला क्रिकेटको अवस्था माथि उकास्नुपर्ने बताइन्। ‘अब नेपालमा महिला क्रिकेटका जुन अवस्था छ, त्यसमा ध्यान दिने बेला आएको छ । पछिल्लो १२ वर्षदेखि खेलिरहेका छौ, तर हामीलाई निजी क्षेत्रको लगानी छैन, नियमित क्रिकेट प्रतियोगिता छैन, हामीलाई मासिक तलव पनि छैन, क्यान पनि छैन। राम्रो खेल्दा पनि त्यसको फल हामीले कस्तो हुन्छ, त्यो पाउन सकेका छैनौं। अहिलेसम्म हामीले जति पनि खेलेका छौं, त्यो खेलाडी आफैंले गरेर भएको हो।’
पछिल्लो डेढ वर्ष महिला खेलाडीको अवस्था निकै कमजोर रहेको भन्दै उनले खेलाडीहरू आफ्नै तरिकाले भारत र बंगालदेश गएर प्रशिक्षण गरेको भन्दै क्रिकेटसँग नजिक हुने प्रयास गरिरहेको बताइन्।
पछिल्लो पटकको छोटो क्याम्पले अहिलेको नतिजा आएको उनले दाबी गरिन्।
‘१५ दिनको तयारीमा हामी प्रतियोगितानै जितेर आउँछौ भन्ने होइन नि, हामीले धेरै कुरा सिकेर आएका छौ, अब व्यवहारमा उतार्यौ भने निश्चय पनि आगामी दिनमा राम्रो गर्नेछौ,’ उनले भनिन्।
हेर्नुहोस् तस्बिरमा