नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले गए राति घरेलु टोली दिल्लीले किङ्स इलाभेन पञ्जाबविरूद्ध सानदार बलिङ प्रदर्शन गर्दै ३ महत्वपूर्ण विकेट लिए।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले हरेक चोटी मौका पाउनासाथ आफूलाई प्रमाणित गर्नुपर्ने बताएका छन्।
‘हरेक पटक मौका पाउँदा मैले आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने लाग्छ,’ सन्दीपले भने, ‘म सधैं मेरो भूमिका पूरा गर्न चाहन्थें। कहिलेकाहिँ प्लेइङ ११ मा नपर्दा दुःख लाग्छ, तर टिममा राम्रा वैकल्पिक खेलाडी चाहिन्छन् । मेरो विचारमा टिम व्यवस्थापनसँग क्रिकेटको धेरै राम्रो ज्ञान छ। उनीहरूको आफ्नै योजना हुन्छन् र त्यसैले भिन्नभिन्न प्लेइङ ११ छान्छन् । मैले अझै सुधार गरिरहनु पर्छ ।’
दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा भएको खेलमा दिल्लीले ५ विकेटको जित निकाल्ने क्रममा सन्दीपको भूमिका महत्वपूर्ण थियो।
सन्दीपले पञ्चाबका ओपनरद्वय लोकेश राहुल र क्रिस गेल र मध्यक्रममा अलराउन्डर साम करनलाई आउट पारे।
पछिल्ला २ खेलमा दिल्लीको प्लेइङ सेटमा नपरेका सन्दीपले शनिबार पञ्जाबविरूद्धको ४ ओभरमा ४० रन दिएर ३ विकेट लिएका उनी सो खेलमा स्टाईलिस प्लेयर अफ द म्याचको अवार्डबाट सम्मानितसमेत भए।
आईपीएलका कुनै खेलमा सन्दीपले अवार्ड पाएको यो पहिलो पटक हो । उनले अवार्डमा एक लाख नगद (भारु) र ५ ट्रफि पाए ।
दिल्लीका लागि दोस्रो सिजन खेलिरहेका सन्दीपले हालसम्म आईपीएलका दुई सिजनमा गरेर ८ खेलमा १३ विकेट लिएका छन्। सन्दीपले जारी सिजनका ५ खेलबाट ८ विकेट लिएका छन् भने गत सिजनमा ३ खेलमा ५ विकेट लिएका थिए । आईपीएलको आठौं खेलमा उनी अवार्डबाट सम्मानित भएका हुन् ।