आइसिसी क्रिकेट विश्वकपमा न्युजिल्यान्डले पाकिस्तानलाई २३८ रनको लक्ष्य दिएको छ। बर्मिङघममा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा २३७ रन जोड्यो।
न्युजिल्यान्डका लागि छैटौं नम्बरका ब्याट्सम्यान जेम्स निशमले नटआउट ९७ रन जोडे। उनले ११२ बलमा ५ चौका र ३ छक्का हिर्काए। कोलिन डे ग्रान्डहोमले ६४ रनको योगदान दिए। रनटआउट हुनुअघि उनले ७१ बलमा ६ चौका र १ छक्का हिर्काए।
त्यसअघि ओपनर मार्टिङ गुपटिल ५ रनमै आउट भए। उनलाई मोहमद अमिरले बोल्ड गरेका थिए। कोलिन मुनरो १२ रनमा आउट हुँदा रोश टेलर ३ रन र टम लाथम १ रनमा आउट भएका थिए। तीनै जनालाई साहिन शाह अफ्रिदीले आफ्नो सिकार बनाएका थिए।
न्युजिल्यान्डका कप्तान केन विलियमसन पनि ४१ रनमा आउट भएका थिए।
कुनै बेला ५ विकेट गुमाउदा ८३ रनमा रहेको न्युजिल्यान्डको इनिङ निशम र ग्रान्डहोमले उकासेका थिए।
बलिङमा पाकिस्तानका अफ्रिदीले ३ विकेट लिए। मोहमद अमिर र सादब खानले १–१ विकेट हात पारे।
खेलमा जित पारे न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ। यता पाकिस्तानलाई सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न जित हात पार्नै पर्ने दबाब छ।