आइसिसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपालले मलेसियाविरुद्ध शनिबार र आइतबार गरी २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।
आगामी साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका लागि दुवै खेल गल्ती सुधार गर्ने तथा वातावरणसँग भिज्ने मौकाको रुपमा लिइएको छ।
शनिबारको खेल क्वालालम्पुरस्थित किनरारा ओभलमा विहान पौने ८ बजे सुरु हुनेछ। गत मंगलबार यहि मैदानमा नेपालको यू-१९ टिमले हङकङलाई हराएर एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो।
पछिल्लो पटक नेपालले फेब्रुअरी पहिलो साता युएईविरुद्ध तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। सो सिरिज नेपालले २–१ ले जितेको थियो।
आइतबार हुने दोस्रो अभ्यास खेल पनि किनरारा मैदानमै हुनेछ।
वरीयताको आधारमा नेपाल मलेसियाभन्दा बलियो टिम हो। टी-२० को विश्व वरीयतामा नेपाल ११औं स्थानमा छ भने मलेसिया ३५औं स्थानमा छ।
सन् २००७ यता नेपाल र मलेसियाबीच टी-२० मा ४ खेल भएको छ। जसमा नेपाल ३ खेलमा विजयी भएको छ भने मलेसियाले एक खेल जितेको छ।
दुई खेलको सिरिजपछि नेपाल मलेसियाबाटै साउन ४ गते सिंगापुर प्रस्थान गर्नेछ।
नेपाल र मलेसियाबीचका टी-२० खेल
आइसिसी टी-२० विश्वकप एसिया उपक्षेत्रीय छनोट २०१८ - नेपालद्वारा मलेसिया ८ विकेटले पराजित
एसिसी टी-२० कप २०१३– नेपालद्वारा मलेसिया १९ रनले पराजित
एसिसी टी-२० कप २००९– मलेसियाद्वारा नेपाल ६ विकेटले पराजित
एसिसी टी-२० कप २००७– नेपालद्वारा मलेसिया २१ रनले हरायो
टी-२० एसिया छनोट
छनोटमा नेपालसहित कतार, मलेसिया, कुवेत र सिंगापुरबीच खेल हुँदैछ।
सिंगापुरमा नेपालले पहिलो खेल कतारसँग साउन ७ गते, मलेसियामा साउन ८ गते, कुवेतसँग साउन ११ गते र सिंगापुरसँग साउन १२ गते खेल्नेछ।
यो प्रतियोगितामा च्याम्पियन भएमा नेपाल विश्व छनोटमा पुग्नेछ। विश्व छनोट आगामी अक्टोबरमा युएईमा हुँदैछ।
टी–२० विश्वकप छनोटमा जिम्बावेसहित १४ टिमबीच विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ। १४ टिम मध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकपमा छानिनेछन्।
नेपाली टिम
पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी
सपोर्ट स्टाफ
उमेश पटवाल- प्रमुख प्रशिक्षक
रमन सिवाकोटी- व्यवस्थापक/विश्लेषक
दिनेश भट्ट- फिजियो