भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी आइपिएल क्रिकेट २०२० का लागि अभ्यासमा फर्किएका छन्।
चेन्नइ सुपरकिंग्सका कप्तान धोनीको अभ्यास हेर्न सोमबार केहि हजार दर्शक चेन्नइमा पुगेका थिए। अभ्यास हेर्नका लागि रंगशालाको तीन लहर छुट्याइएको थियो।
भारतीय टिममा नपरे पनि धोनीलाई २०२१ सम्म रिटेन गर्ने चेन्नइको व्यवस्थापनले बताइसकेको छ।
सिजनको आइपिएलमा चेन्नईले आफ्नो पहिलो खेलमा मार्च २९ मा मुम्बईसँग खेल्दैछ।
केहि महिनाअघि मात्र धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका थिए।
बिसिसिआईले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको थिएन।
क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। उनले पछिल्लो एकदिवसीय खेल विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। टी–२० मा भने धोनीले पछिल्लो पटक गत फेब्रुअरी अस्ट्रेलियाविरुद्ध खेलेका थिए।
विश्वकपबाट फर्किएपछि धोनी राष्ट्रिय टिमबाट छुट्टी लिएर भारतीय सेनाको ड्युटीमा खटिएका थिए।
त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिदै आएको छ। धोनीले विश्वकप यता कुनै पनि व्यवासायिक खेल खेलेका छैनन्।
भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले आइपिएलमा धोनीले राम्रो खेलेमा वर्षको अन्त्यमा हुने टी-२० विश्वकपमा खेलाउने बताउँदै आएका छन्।