पहिलो संस्करणको 'द हन्ड्रेड' (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) एक वर्ष पछि धकेलिएको छ।
संसारभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले जुलाई तेस्रो सातादेखि आयोजना गर्ने गर्ने भनेको द हन्ड्रेड सन् २०२१ सम्मका लागि स्थगित गरिएको हो।
कोरोनाभाइरसका कारण मुख्यगरी बजेटमा समस्या देखिएपछि प्रतियोगिता एक वर्ष सारिएको हो।
द हन्ड्रेडमा नेपालका सन्दीप लामिछानेलाई गत कात्तिकमा भएको ड्राफ्टमा ओभल इन्भिसिबल्सले आबद्ध गरेको थियो।
सन्दीपले राखेको १ लाख पाउन्ड (१ करोड ५२ लाख ५ हजार रुपैयाँ) मा ओभलले आबद्ध गरेको थियो।
विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सन्दीप आबद्ध भएको यो अहिलेसम्मकै महँगो मूल्य हो।
प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगस्टसम्म आयोजना गर्ने प्रस्ताव गरिएको थियो।
'द हन्ड्रेड' मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहने बताइएको थियो।
टी–२० क्रिकेटको लोकप्रियतासँगै इसिबीले नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता गर्ने योजना बनाएकव थियो। सन् २०१८ मा इसिबीले १०० बलको क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको थियो। पहिलो १५ ओभर ६–६ बलको हुने र अन्तिम ओभर १० ओभरको हुने भनिएको थियो। तर यो प्रस्ताव नियम परिवर्तन गरिएको छ।
'द हन्ड्रेड' मा दुवै टिमले १००–१०० बल खेल्नेछन्। १०–१० बलमा इन्ड चेन्ज गरिनेछ (एउटा इन्डबाट १० बल गरिनेछ)। एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउनेछ। एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउनेछ। खेलमा पहिलो २५ बलको पावरप्ले हुनेछ। पावरप्लेमा ३० यार्डको सर्कलबाहिर २ फिल्डर मात्र राख्न पाइनेछ।