सन् १८४४ सेप्टेम्बर २४ र २५ पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल भएको थियो। पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका क्यानडा र अमेरिकाले पाएका थिए।
लेखक मार्टिन विलियमसनका अनुसार अमेरिकाको न्युयोर्कस्थित मन्हातमको ब्लुमिङडाले पार्कमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल भएको थियो। सो खेल हेर्न ५ हजार दर्शक पुगेको विलियमसनले आफ्नो लेखमा उल्लेख गरेका छन्।
पहिलो अन्तर्राष्ट्रिय खेल भएको ३३ वर्षपछि पहिलो टेस्ट म्याच भएको थियो। पहिलो टेस्ट खेलमा अस्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भएको थियो। सन् १८७७ मार्च १५ देखि १९ सम्म भएको टेस्ट म्याच पछि ‘द एसेस’ क्रिकेट सिरिजको नामबाट चर्चित बन्यो। ‘द एसेस’ अहिले पनि निरन्तर भइरहेको छ।
अस्ट्रेलिया र इंग्ल्यान्डबीच टेस्ट खेल भएको १२ वर्षपछि दक्षिण अफ्रिकाले पनि टेस्टको मान्यता पाएको थियो। त्यसपछि क्रिकेट टिमबीच टेस्ट सिरिज तय हुन थालेको हो।
सन् १९०० मा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलमा क्रिकेट समावेश थियो। सो ओलम्पिकमा सामावेश भएका १९ खेल मध्ये क्रिकेटमा भने २ देशबीच मात्र प्रतिस्पर्धा भएको थियो। आयोजक फ्रान्समाथि १ सय ५८ रनको जित निकालेर ब्रिटेनले स्वर्ण पदक जितेको थियो। क्रिकेटका लागि त्यो ओलम्पिक नै पहिलो र अन्तिम हो।
सन् १९१२ मा पहिलो पटक २ भन्दा बढी राष्ट्रबीच एकै प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो। इंग्ल्यान्डमा भएको इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच त्रिकोणात्मक टेस्ट सिरिज भएको थियो। तर त्यो क्रिकेट प्रतिस्पर्धा बीचमा रोकियो।
लेखक मार्टिन विलियमसनले उल्लेख गरेअनुसार फ्रेब्रुअरी महिनामा भएको टेस्टका दौरान अस्ट्रेलिया र दक्षिण अफ्रिकाको टिम व्यवस्थापनमा समस्या थियो। यस्तै पिच नराम्रो भएको तथा दर्शकको उपस्थिति न्यून भएका कारण सिरिज रोकियो।
१९२० दशकको अन्त्य र १९३० को सुरुवातमा टेस्ट खेल्ने टिमको संख्या बढ्यो। वेस्ट इन्डिजले १९२८ मा, न्युजिल्यान्डले १९३० मा, भारतले १९३२ मा र पाकिस्तानले १९५२ मा टेस्ट टिमको मान्यता पाए। त्यसपछि क्रिकेटका प्रतिस्पर्धा बढ्न थाल्यो। टिमहरु बीच ३ दिन, ४ दिन वा ५ दिनको खेल हुने क्रम बढ्यो।
सन् १९६० को दशकमा इंल्यान्डका काउन्ट्रि क्रिकेट टिमले छोटो फर्म्याटका क्रिकेट खेल्न थाले। उनीहरुको खेल १ दिनमै सकिन्थ्यो। सन् १९६२ इंग्ल्यान्डमा भएको मिडल्यान्ड नकआउट कपलाई लिमिटेड ओभरको पहिलो प्रतियोगिताको रुपमा लिने गरिन्छ।
सन् १९६३ जिलेट कप आयोजना भएपछि एकदिवसीय क्रिकेटको लोकप्रियता बढ्दै गएको थियो। एकदिवसीय खेलको लोकप्रियता बढ्दै गएपछि सन् १९६९ मा राष्ट्रिय सनडे लिग खेलाउन थालिएको थियो।
एक दिनमै खेल सकिने भएकाले एकदिवसीय (वान डे) क्रिकेट भन्न थालिएको हो। आइसिसीका अनुसार पहिलो एकदिवसीय खेल जनावरी ५, १९७१ मा अस्ट्रेलियाको मेलवर्नमा भएको थियो।
अस्ट्रेलिया र इंग्ल्यान्डबीच तय भएको टेस्ट वर्षाले प्रभावित बनेपछि एकदिवसीय खेल सम्भव भएको थियो।
अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल हेर्न पुगेका दर्शकलाई निराश नबनाउनका लागि एक दिनमै खेल सकिने गरी खेल भएको थियो। पहिलो एकदिवसीय खेल ४० ओभरको भएको थियो भने एक ओभरमा ८ बल हुने नियम थियो।
१९७० दशकको अन्त्यमा केरी पार्करले वर्ल्ड सिरिज क्रिकेट (डब्लुएससी) प्रतिस्पर्धा स्थापना गरे। सो प्रतियोगितामा एक दिनको खेल हुन्थ्यो भने खेलाडीहरुले रंगिन जर्सी लगाउने गरेका थिए। खेल फ्लड लाइटमा राती खेलाउने गरिएको थियो भने रंगशालामै ठूलो स्क्रिनमा देखाउने गरिएको थियो।
खेलको टेलिभिजनबाट प्रशासरण गर्ने गरिन्थ्यो भने खेललाई कैद गर्न दर्जनौ क्यामेरा रंगशालामा राखिएको थियो। १९७९ जनावरी १७ मा डब्लुएससी अस्ट्रेलियन्स र डब्लुएससी वेस्ट इन्डियन्सबीच पहिलो पटक रंगीन जर्सीमा प्रतिस्पर्धा भएको थियो।
इंल्यान्डको घरेलु प्रतियोगितामा एकदिवसीय खेलको लोकप्रियता बढेसँगै आइसिसीले एकदिवसीय विश्वकप गर्ने निर्णय गरेको थियो। सन् १९०९ स्थापना भएको आइसिसीको सुरुवातमा नाम इम्पेरियल क्रिकेट कम्फरेन्स थियो। सन् १९६५ मा नाम परिवर्तन गरेर इन्टरनेसनल क्रिकेट कन्फरेन्स बनाइएको थियो। १९८९ मा इन्टरनेसनल क्रिकेट काउन्सिलको रुपमा रुपन्तरण भयो।
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट पहिलो पटक सन् १९७३ मा भयो। पहिलो एकदिवसीय विश्वकपको प्रतिस्पर्धा महिलाको थियो। इंग्ल्यान्डमा आयोजना भएको महिला विश्वकपको विजेता पनि इंग्ल्यान्ड नै भयो। २० जुन देखि २८ जुनसम्म भएको प्रतियोगितामा ७ टिमले भाग लिएका थिए।
६० ओभरको यो प्रतियोगितामा आयोजक इंग्ल्यान्डसहित अस्ट्रेलिया, न्युजिल्यान्ड, अन्तर्राष्ट्रिय-११, ट्रिनिडाड एन्ड टोबागो, जमैका र योङ इंग्ल्यान्डले भाग लिएका थिए।
महिलाको विश्वकप भएको २ वर्षपछि मात्र पुरुषको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आयोजना भयो। इंल्यान्डमा आयोजना भएको प्रतियोगिता ७ जुन देखि २१ जुनसम्म संचालन भएको थियो। विश्वमा क्रिकेटको लोकप्रियतामा कोशेढुंगा सावित भएको पहिलो विश्वकपको आधिकारिक नाम प्रुडेन्सियल कप ट्रफी हो।
प्रतियोगिताको प्रायोजक प्रुडेन्सियल पिएलसीको नाममा प्रतियोगिता आयोजना भएको थियो। विश्वकपका खेल ६० ओभरमा संचालन भएको थियो। प्रति ओभर ६ बल थियो भने खेलाडीले सेतो जर्सी लगाउने र रातो क्रिकेट बलमा खेल्ने नियम थियो।
पहिलो विश्वकपमा ८ टिमले भाग लिएका थिए। आयोजक इंल्यान्डसहित अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र वेस्ट इन्डिज गरी ६ टेस्ट देशले विश्वकपमा प्रतिस्पर्धा गरेका थिए। श्रीलंका र इस्ट अफ्रिकाले पनि पहिलो विश्व खेल्ने मौका पाएका थिए। पहिलो विश्वकप खेलेको इस्ट अफ्रिका टिम केन्या, युगान्डा, तान्जानिया र जाम्बियाका खेलाडी मिसाएर बनेको टिम थियो।
पहिलो विश्वकपमा टेस्ट राष्ट्र भएर पनि दक्षिण अफ्रिकाले खेल्ने अवसर पाएन। दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाइएको थियो। तत्कालिन समय रंगभेदको आन्दोलन चलिरहेको दक्षिण अफ्रिका क्रिकेटबाट पनि अलग हुनु परेको थियो।
पहिलो विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको थियो। लर्ड्सको भएको फाइनलमा अस्ट्रेलियालाई १७ रनले पराजित गर्दै वेस्ट इन्डिज पहिलो विश्वकपको च्याम्पियन बनेको थियो।
सन् १९७९ मा भएको दोस्रो विश्वकपको आयोजनाको जिम्मा पनि इंल्यान्डले पायो। यसपटक टेस्ट नखेल्ने राष्ट्रका लागि आइसिसी ट्रफी आयोजना गरियो। विश्वकपमा टिम छनोट गर्न ट्रफी आयोजना गरिएको थियो। ६ वटा टेस्ट टिमसहित श्रीलंका र क्यानडाले छनोट पार गरेर विश्वकप खेले। यस विश्वकप पनि वेस्ट इन्डिजले विश्वकप जित्यो। वेस्ट इन्डिजले फाइनलमा आयोजना इंल्यान्डलाई ९२ रनले पराजित गरेको थियो।
इंग्ल्यान्डले लगातार तेस्रो पटक विश्वकप आयोजना गर्ने क्रममा सन् १९८३ मा विश्वकपको आयोजना गर्यो। यसपटक पनि ८ टिमबीच प्रतिसिपर्धा भयो। यतिबेला श्रीलंकाले टेस्ट टिमको मान्यता पाइसकेको थियो। जसकारण ७ वटा टेस्ट टिम र आइसिसी ट्रफी खेलेर छनोट भएको जिम्बावेले तेस्रो विश्वकपमा प्रतिस्पर्धा गरे।
त्यसबेला फिल्डिङका लागि मैदानमा सर्कल बनाउने सुरुवात गरिएको थियो। ३० यार्डको सर्कलमा ४ फिल्डर अनिवार्य रुपमा रहनु पर्ने नियम थियो। यसपटक एसियन टिम भारतले विश्वकपको उपाधि जित्यो। भारतले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेर उपाधि जितेको थियो।