वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा घरेलु टिम न्युजिल्यान्डका कप्तान केन विलियमसनले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्।
विलियमसनले २५१ रन प्रहार गरेपछि न्युजिल्यान्डले ७ विकेटको क्षतिमा ५१९ रन जोडेर इनिङ समाप्तीको घोषणा गरेको छ।टेस्टको दोस्रो दिनको खेल सकिदा वेस्ट इन्डिजले बिनाविकेटको क्षतिमा ४९ रन जोडेको छ।
विलियमसनले टेस्टमा व्यक्तिगत सर्वाधिक स्कोर गर्ने क्रममा ४१२ बलमा ३४ चौका र २ छक्का हिर्काए।
उनले तेस्रो पटक दोहोरो शतक प्रहार गरेका हुन्। उनले सन् २०१९ मा बंगलादेशविरुद्ध नटआउट २०० रन र २०१५ मा श्रीलंकाविरुद्ध नटआउट २४२ रन जोडेका थिए।
विलियमसन टेस्टमा एकै इनिङमा २५० रन भन्दा बढी प्रहार गर्ने न्युजिल्यान्डका आठौं ब्याट्सम्यान बने।
टेस्टमा एकै इनिङमा बढी रन प्रहार गर्ने न्युजिल्यान्डका खेलाडीको रेकर्ड भने ग्लेन टर्नरको नाममा छ। उनले सन् १९७९ मा वेस्ट इन्डिजविरुद्ध २५९ रन जोडेका थिए।
वेस्ट इन्डिजविरुद्ध २५१ रन प्रहार गर्ने क्रममा विलियमसनले ६२३ मिनेट ब्याटिङ गरे। उनले टेस्टमा १० घन्टा भन्दा बढी ब्याटिङ गरेको यो दोस्रो पटक हो।