पाकिस्तान सुपर लिग (पिएसएल) टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता स्थगित भएको छ। लिगमा सहभागी खेलाडीहरुमा कोरोना संक्रमण दर बढेपछि पिएसएल बीचैमा स्थगित गरिएको हो।
बिहीबार पिएसएलका सहभागी थप तीन जना खेलाडीलाई कोरोना देखिएको थियो। योसँगै पिएसएलका ६ खेलाडी कोरोनाबाट संक्रमित भएका थिए।
यस्तै पिएसएलमा एक अफिसियलमा पनि कोरोना लागेको पुष्टि भएको थियो।
पाकिस्तान क्रिकेट बोर्डका अनुसार कोरोना देखिएका पछिल्ला तीन खेलाडी फरक फरक टिमका हुन्।
कोरोना देखिएका खेलाडीहरु दश दिनको क्वारेन्टिनमा बसेका छन्।
कोरोना संक्रमण दर बढेपछि बिहीबार विहान पकिस्तान क्रिकेट बोर्डको आकस्मिक बैठक बसेको थियो। भर्चुअल रुपमा बसेको बैठकले तत्कालका लागि लिग स्थगित गर्ने निर्णय गरेको हो।
परिस्थितिको मुल्याङ्कन गरेपछि बस्ने अर्को बैठकले लिग सुचारु गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।
पिएसएलमा अहिले पाँचौ चरणको खेल जारी छ। जसमा कराँची किंग्स ६ अंकसहित शीर्ष स्थानमा छ।
पिएसएलमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने पनि सहभागी हुन गत शनिबार कराँची गएका थिए।
लाहोरमा आबद्ध उनी दश दिनको क्वारेन्टिनमा रहेकाले खेल भने खेलेका छैनन्। सन्दीपलाई लाहोरले अफगानिस्तानका रासिद खानको स्थानमा भित्र्याएको थियो।