बार्सिलोना कोपा डेल रे को अन्तिम नकआउट चरणमा प्रवेश गरेको छ।
दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा पुगेको हो।
बुधबार राति घरेलु मैदानमा दोस्रो रोजाइको खेलाडी उतारेको बार्सिलोनाले सहज जित निकाल्दै दोस्रो चरण प्रवेश गरेको हो।
बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल गर्दा माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरेका थिए।
नियमित टोलीका नेल्सन सेमेडो र इभान राकीटिचलाई मात्र पहिलो रोजाइमा राखेका प्रशिक्षक एर्नेस्टो भालभर्डेले बाँकी खेलाडीलाई आराम दिएका थिए।
राकीटिचको पासमा मुनिर एल अद्ददीले खेलको १८ औं मिनेटमा गोल गर्दै बार्सलोनालाई सुरूवाती अग्रता दिलाए।
यस्तै खेलको २६औं मिनेटमा राकीटिचकै पासमा डेनिस सुआरेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
यस्तै ४३ औं मिनेटमा राकिटिचकै पासमा माल्कमले हेडरमार्फत गोल गरेपछि पहिलो हाफमै बार्सिलोना ३-० ले अगाडि बढ्यो।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको लिओनेसाले ५४ औं मिनेटमा गोल गोल गर्दै खेलमा फर्कने संकेत देखायो।
उसका लागि जोसे म्यानुएलले दिएको क्रस पासमा सेनेले गोल गर्दै अग्रता कम गराए।
तर खेलको ७० औं मिनेटमा बार्सिलोनाका लागि सुआरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना खेलमा पुनः ३ गोलको अग्रता कायम गर्न सफल भयो।
यसपछि दुबै तर्फबाट गोल भएन र बार्सिलोना ४-१ ले विजयी भयो।
यो सँगै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन बार्सिलोना समग्रमा ५-१ ले विजयी हुँदै दोस्रो चरणमा पुगेको छ। बार्सिलोनाले पहिलो लेगको खेल १-० ले जितेको थियो।
प्रतियोगितामा बार्सिलोनाले लगातार चार पटक उपाधि उचालेको छ।