बुटवलमा जारी तिलोत्तमा गोल्डकपको सोमबारको खेलमा भ्याली च्यासल युथ क्लबले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
बुटवल ११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सम्पन्न खेलमा सिएमजी क्लब संकटालाई शून्यका विरूद्ध दुई गोल गर्दै च्यासल अन्तिम आठमा पुगेको हो।
विपक्षी टिमको बलियो बचाउका बीच च्यासलका जर्सी नं. १० का अर्मन्ड बेडियमले दोस्रो हाफको ४ मिनेटमा गोल गर्दै टिमको पक्षमा खाता खोलेका थिए। टिम क्याप्टेन अमिर श्रेष्ठको पासमा बेडियमले उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफमा दुवै टिमले कुनै पनि गोल नगरी गोलरहित बराबरीमा रहेकोमा दोस्रो हाफको पहिलो गोललगत्तै च्यासलले अर्को गोल गरी आफ्नो टिमको जितलाई फराकिलो बनाएका थिए ।
दोस्रो हाफको आठ मिनेटमा विदेशी खेलाडी जर्सी नं. ७७ का एल्भिसको पासमा जर्सी नं १४ का सजिन थापा मगरले गोल गरेका थिए। यसपछि पनि च्यासलका तर्फबाट भएका पटक/पटकका गोल गर्ने प्रयास असफल भए।
च्यासलका विदेशी खेलाडी अर्मन्डले दोस्रो हाफको ३६ मिनेटमा हानेको बललाई सिएमजीका गोलरक्षक राजाबाबु थापाले बचाउ गरेभने लगत्तै ४० मिनेटमा हानेको अर्को बल गोलपोष्टमा लागेर फर्किएको थियो ।
च्यासलकै जर्सी नं. १४ का सजिन थापा मगरले दोस्रो हाफको ३५ मिनेटमा हालेको बललाई सिएमजीका गोल रक्षक राजाबाबु थापाले बचाउ गरे भने अन्तिम चार मिनेटमा निकालेको बललाई सिएमजीका १४ नं. खेलाडी अभिषेक लिम्बूले बचाउ गरेका थिए ।
सिएमजीका तर्फबाट बलियो डिफेन्स हुँदाहुँदै पनि गोल गर्न भने सकेन। अन्तत: तिलोत्तमा गोल्डकपको पहिलो खेलबाटै घर फर्किएको छ।
सिएमजीका टिम क्याप्टेन रवि सिलवालले यसअघि बुढासुब्बा कप र सिमरा कपमा लगातार खेल खेलेको कारण खेलाडीहरू थाकेको प्रतिक्रिया दिए।
‘हाम्रो टिमको पूरै सेट पनि होइन, थाकेको र रेष्ट गर्नु आवश्यक भएको बेला नयाँ खेलाडीलाई पनि चान्स दिएको कारण नतिजा हाम्रो पक्षमा आउन सकेन,’ उनले भने।
उता च्यासलका कोच राजुकाजी शाक्यले मैदान नयाँ हुँदाहुँदै पनि मुभमेन्ट राम्रो हुँदा जित निकाल्न सकिएको बताए।
‘हाम्रो टिमको लागि यो मैदान नयाँ हो, पहिलो हाफमा नयाँ मैदानमा केही गाह्रो भए पनि सेकेन्ड हाफमा मुभमेन्टमा सुधार भयो,’ उनले भने
अब च्यासलले क्वाटर फाइनलमा मनाङ मस्र्याङदीसँग भेट गर्ने छ। सोमबारको खेलमा च्यासलका सजिन थापामगरले पहेँलो कार्ड पाए भने च्यासलकै अर्मन्ड बेडियम म्यान अफ दि म्याच घोषित भए ।
मंगलबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र विदेशी पाहुना टोली दार्जिलिङ भारतका बीचमा हुने गोल्डकप आयोजक रुपन्देही फुटबल संघले जानकारी दिएको छ ।