युरो २०२० को खेलका दौरान कार्डियक अरेस्टका कारण मैदानमै ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले पहिलो पटक सार्वजनिक वक्तव्य दिएका छन् ।
फिनल्यान्डविरुद्धको खेलमा मैदानमा ढलेका एरिक्नसले आफ्नो स्वास्थ्य ठिक हुँदै गएको बताएका छन्।
मैदानमै १५ मिनेट उपाचार गरेपछि उनलाई नजिकैको अस्पलातमा लगिएको थियो। अस्पताल लैजाने क्रममा उनको होस आएको थियो।
एरिक्सनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै फ्यानलाई धन्यवाद दिएका छन्।
आफ्ना एजेन्जामार्फत दिइएको वक्तव्यमा उनले भनेका छन्,' धन्यवाद, म हार मान्नेवाला छैन। म अहिले राम्रो महसुस गर्दैछु, तर मलाई के भयो भनेर थाहा पाउन चाहन्छु। तपाइँहरूले मेरो लागि गर्नुभएका सबैका लागि धन्यवाद भन्न चाहन्छु।'
एजेन्टका अनुसार एरिक्सन अहिले चिकित्शकको निगरानीमा रहेका छन्। अब डेनमार्कले बेल्जियमविरुद्ध खेल्दा एरिक्नसले मैदानमा गएर समर्थन गर्न चाहेको पनि एजेन्टको भनाइ छ।
गत शनिबार राति फिल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर मैदानमा ढलेर बेहोस भएपछि खेल डेढ घन्टा रोकिएको थियो।
पछि एरिक्सनले भिडियो कलमार्फत खेल सुचारू गर्न भनेपछि खेल सुरु भएको थियो।
एरिक्सन मैदानमा ढलेपछि मैदानमा रहेका डेनमार्क तथा फिनल्यान्डका खेलाडी भावुक बनेका थिए।
त्यसपछि उनको स्वास्थ्यलाभको कामना गर्दै संसारभरबाट शुभकामना आएका थिए।