इतिहास हेर्दा सेयर बजारमा प्रायः साउन/भदौमै नयाँ अंकको रेकर्ड बन्ने गरेको पाइन्छ। २०७३ साउन १२ गते सेयर बजारको परिसूचक नेप्सेले १८८१ अंकको उच्च रेकर्ड बनाएको थियो।
त्यसपछि ‘बियरिस ट्रेण्ड’ समाउँदै बजार २०७५ माघ २८ गते ११२९ अंकसम्म झर्यो। त्यहीं वर्षको अन्त्यदेखि ‘बुलिस ट्रेन्ड’ थालेको बजारले एक महिनाअघि मात्रै, २०७८ भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो। त्यसयता बजार घटिरहेको छ।
गत साउन ५, ६ र ७ गते सेयर बजारको परिसूचक नेप्से २८१२ अंकको आसपासमा थियो। त्यसपछि परिसूचक फेरि माथि उक्लिँदै गयो। माथि उक्लिने क्रममा भदौ २ गते ३१९८ अंकको रेकर्ड बनेको हो।
गत बिहीबार बजारको परिसूचक २८१२ अंककै आसपासमा अडियो। त्यसअघि साउनको पहिलो हप्ता सोही अंकबाट सपोर्ट पाएरै भदाै २ मा ३१९८ अंक पुगेकाले फेरि टेवा पाउने अनुमान थियो।
आइतबार उपत्यकामा सार्वजनिक बिदा परेकाले नखुलेको बजारले सोमबार त्यहीं अंकबाट माथि उक्लिने अनुमान गरियो।
अर्कोतर्फ यसै दिन संसदबाट प्रतिस्थापन बजेट पारित भएको थियो। तर सोमबार पनि सेयर बजारको माहोल सुरुआतदेखि नै उच्च अंकमा ‘रातो’ हुँदै गयो।
सोमबार सेयर बजारमा ११४ अंकको पहिरो गएको छ। ४ प्रतिशतको गिरावटसँगै परिसूचक २७ सयमुनि झरेको छ। आजको कारोबारपछि नेप्से परिसूचक २६९८ अंकमा कायम भयो।
सेयर बजारलाई प्रभाव पार्न सैद्धान्तिक पक्षहरु बढी महत्वपूर्ण हुन्छ। यो पक्ष नै कमजोर भएकाले बजार प्रभावित भएको बताउँछन् सेयर लगानीकर्ता पिताम्बर खरेल।
‘हाल लगानीयोग्य रकमको अभाव भएकाले बैंकहरुले ब्याजदर बढाएका छन्, यसले स्वभाविक रुपमा बजारलाई नकारात्मक असर पार्छ’ उनले भने ‘यसअघि राष्ट्र बैंकले सेयर कर्जामा दिएको सीमाले नै असर पारेको थियो।’
यी दुई पक्षले बजारलाई बढी असर पारेको उनले बताए। अर्कोतर्फ निषेधाज्ञा पनि पूर्ण रुपमा खुलेको छ, अर्थतन्त्रले एउटा लय पनि समात्न खोजेको छ, त्यसकारण पुँजी अन्य क्षेत्रमा परिचालन हुनका लागि पनि आपूर्ति बढेको हुन सक्ने उनको बुझाई छ।
त्यस्तै चाडवाड नजिकिएकाले खर्च जोहो गर्नका लागि सेयर बिक्रीमा चाप परेको उनले बताए।
बजारलाई प्राविधिक रुपमा अध्ययन गर्दै आएका राजु मुनिकार कारोबार गर्नेको ठूलो भीड अहिले ‘बियरिस ट्रेन्ड’ भनेर आत्तिएको विश्लेषण गर्छन्।
‘ठूलो समूह अहिले आत्तिएको अवस्था देखिन्छ, धेरैमा बियरिस सेन्टिमेन्ट बनेको छ, जसले गर्दा खरिदभन्दा बिक्रीतर्फ उच्च चाप परेको छ’ उनले भने।
यद्यपि बजार बियरिस ट्रेन्डमा नभई करेक्सनमै रहेको उनी औंल्याउँछन्। अबका लागि २६४० अंकमा सपोर्ट प्वाइन्ट रहेको उनले बताए। सो विन्दुमा बजार नरोकिएमा २५ सयसम्म पनि झर्न सक्ने उनले बताए। सो अंकमा भने बलियो सपोर्ट रहेको उनले बताए। ‘अहिलेको बजार जिकज्याक करेक्सन हो, यसको अर्थ प्यानिक सेलिङ अझै केही दिन हुन्छ नै’ उनले भने।