राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले निजामती सेवा विधेयक तुरून्त अगाडि बढाउन सरकार समक्ष आग्रह गरेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडि बढाउनको निम्ति सरकारसमक्ष आग्रह गरे।
उनले भने, ‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ। धेरै लामो समयदेखि अगाडि बढ्न सकेको छैन। यसले प्रदेश निजामती ऐन अगाडि बढ्न पनि सकेको छैन। यसले प्रदेश सरकारहरूले काम अगाडि बढाउन सकेका छैनन्। प्रदेश लोकसेवा आयोगले पनि काम अगाडि बढाउन सकेको छैन। म सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु, यो विधेयक तुरून्त अगाडि बढाइयोस्।’
राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले कोभिड र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिलाई कारण देखाएर विद्यार्थी, अपांग र जेष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडिएको भन्दै छुट पाउने अधिकारबाट बञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘केही दिनयता संक्रमण बढ्दै जाँदा चिन्ताको विषय बनेको छ। बन्दाबन्दी केही खुकुलो भएपछि बजार र सार्वजनिक यातायात सुचारू हुन थालेका छन्। भीडभाड बढ्दै गएको छ। मास्क लगाउने हेलचेक्र्याइँ गरिँदैछ। सार्वजनिक सवारीका साधनमा सेनिटाइजरको व्यवस्था भएको पाइँदैन, सार्वजनिक दूरीको त कुरै छोडौं। विद्यार्थी, अपांग र जेष्ठ नागरिकले यातायातमा पाउने छुट बन्द गरिएको छ। पेट्रोलियम पद्धार्थ र कोभिडको कारण देखाएर नागरिकको अधिकार कुनै पनि हालतमा हनन् गर्न हुँदैन यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु।’