प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले बताए।
प्रधानमन्त्री दाहालले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताएका थिए।
‘नेपाल र चीनबीचका थप नाकाहरु सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ। नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको पाएको छु,’ उनले भने।
अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए।