शनिबार अर्थात् छुट्टिको दिन।
यो दिन केही चित्रकारका लागि भने कला सिर्जनाको दिन बन्थ्यो।
करिब ४ महिनाअघिबाट उनीहरू सामाजिक सञ्जाल फेसबुकबाट जोडिए। कहाँ भेट्ने निर्क्यौल गर्थे। भेट्थे। चित्र कोर्थे। त्यही चित्र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनका लागि राखिएका छन्।
‘शनिबारे स्थलगत चित्रकला प्रदर्शनी’ शीर्षकमा भइरहेको प्रदर्शनीमा पाटन, स्वयम्भू, बौद्धनाथ, चागुँनारायण, टेकु, चोभार, खोकना, पुरानो गुहेश्वरी लगायतका अन्य साँस्कृतिक स्थलका चित्रहरू देख्न सकिन्छन्।
साँस्कृतिक क्षेत्रमा पुगेर चित्र बनाउँदा कलाको विकाससँगै प्रवर्द्धनमा सहयोग पुग्ने चित्रकार एवं आयोजक दीपेन्द्रमान पाल्पालीले बताए।
‘त्यसरी स्थलगत भ्रमण गर्दा नयाँ ठाउँ पुग्नुका साथै नयाँ मानिस पनि भेटिन्छ,’ उनले भने, ‘बिहानै चित्र बनाउन पुग्दा मानिसहरूको जिज्ञासा पनि लोभलाग्दो हुन्थ्यो। अझै कति पाका व्यक्तिले त आफैंले चित्र बनाएको उमेर सम्झन्थे।’
भूकम्पपछि पुनर्निर्माण क्रममा रहेका सम्पदाले भने चित्रमा केही असर पुग्ने उनको अनुभव छ।
‘भत्किएको च्यातिएको कुराहरू धेरैलाई मन पर्दैन नि,’ उनले भने।
करिब १५ स्थलगत कार्यशाला हुँदा अर्की चित्रकार चन्द्रा श्रेष्ठ स्वयम्भू, चागुँनारायण र बौद्ध पुगेकी रहिछन्।
उनले भने स–साना क्यानभासमा मन्दिरका चित्र कोरेकी छन्।
‘म कोरियामा बस्छु। सानो चित्र बोकेर उतै लग्न मिल्ने भएकाले सानोमा बनाएको हो,’ उनले भनिन्।
यो प्रदर्शनी सोमबारसम्म चल्नेछ।
आर्ट काउन्सिलमै भइरहेको ‘लिरिकल एक्जिस्टेन्स’ शीर्षकको प्रदर्शनी भने यही शनिबार सकिँदैछ।
सप्तरीका हरि ओम मेहेताको प्रदर्शनीमा हामी कलासँगै उनको क्षेत्र वरिपरिका सिम्रनगढ, सिराहा लगायतका समुदाय एवं सभ्यताको इतिहास पाउँछौं।
‘म को हुँ? मेरो पहिचान के हो? लगायतका प्रश्नहरूसँग लगातार साक्षत्कार हुन थालेपछि त्यसको जवाफ अनुसन्धान अनि कलामार्फत् दिएको हो,’ उनले भने, ‘अध्ययन क्रममा हाम्रो इतिहास त कति महत्वको रहेछ, त्यसलाई त फैलाउनुपर्छ भन्ने महशुस भयो।’
काखापाखा शीर्षकको एक चित्रमा उनले मुसहर समुदायको एक व्यक्तिको जग्गा अर्कैले बनाएपछिको पीडा देखाएका छन्।
अर्को चित्रमा आफैंलाई केही परिमार्जनसहित देखाउँदै ‘भोट होइन नोट खसिरहेको छ’ भन्दै पैसाको तागत देखाएका छन्।
साथै, अन्य तस्बिरमा पनि तराईमा हुने अभाव, राजनीतिक परिवेश, विभाजन एवं विविधता, उत्पीडित वर्गको आवाज लगायत देखाउन सकिन्छ।
प्रायः एक्रोलिक र दुई ओइल पेन्टिक रहेको प्रदर्शनीलाई तराईकै झल्को दिन भुइँमा मिथिला सभ्यतामा विशेष मानिने अरिपन कोरिएको छ।
मिथिलाकै संगीत पनि पृष्ठभूमिमा सुन्न सकिन्छ। त्योबाहेक चित्रमै पनि केही मिथिला आकार एवं त्यहाँको तिर्हुत लिपी कुँदेका छन्।
प्रायः चित्र त्यस क्षेत्र जनाउने नक्साभित्र बनेका छन्। यी सबैमार्फत् उनी त्यस क्षेत्रको इतिहास बताउन चाहन्छन्।
‘इतिहास एवं संस्कृतिलाई हामीले आत्मसाथ गरेनौं भने हाम्रो अस्तित्व अस्तित्वहीन हुने सम्भावना धेरै छ,’ उनले भने, ‘हाम्रा वरिपरि ती छरिएर बसेका छन्। त्यसैमध्ये केहीलाई समेटेर देखाउन खोजेको छु।’