गायक एवं संगीतकार क्षितिज गिरी आफ्नो नयाँ सिर्जना ‘मायालु’ लिएर आएका छन्।
दुई वर्षअघि ‘सम्बन्ध’ एल्बममार्फत् विशेषतः ‘सेलो रक’ प्रस्तुत गरेका उनले यसपालि नेपाली गायनलाई ‘साल्सा’ र ‘फ्लेमिंगो’ को मिश्रणमा तयार पारेका छन्।
अघिल्लोपटक उनले तामाङ सेलोलाई पश्चिमा रकको स्वादमा ढालेका थिए। उनको नयाँ सिर्जनामा स्पेनियाली प्रभावको साल्सा र म्याक्सिकाली फ्लेमिंगोको स्वाद छ।
‘नेपाली संगीत हाम्रो आफ्नै मौलिक पहिचानमा पनि महान छ,’ यसरी विभिन्न प्रयोग गर्नुको कारण खुलाउँदै क्षितिज भन्छन्, ‘आधुनिक समयमा विश्व मञ्चसम्म हाम्रो नेपालीपन लैजान यसलाई फराकिलो दायरामा ढाल्नुपर्ने देखेर यी प्रयोगहरू गर्दै आएको छु।’
यसले नेपाली भाषामा मात्र सीमित श्रोतालाई पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेका संगीतकर्मसँग नजिक्याउने उनको धारणा छ।
सन् १९९६ मा प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय पप संगीत प्रतियोगीतामा क्षितिज सम्मिलत ब्याण्डले तयार पारेको गीत ‘निलो आकाशमा’ले उत्कृष्ट संगीत सिर्जनाको उपाधि जितेको थियो। त्यतिबेला गोपाल योञ्जन र न्ह्यु बज्राचार्यलगायत निर्णायक थिए।
उक्त प्रतियोगीतालगत्तै उच्च शिक्षा निम्ति विदेश गएका थिए क्षितिज उतै स्थापित भए।
‘अष्ट्रेलियामा नियमित आयोजना भइरहने अन्तर्राष्ट्रिय स्तरका सांगीतिक कार्यक्रमले मेरो ज्ञानलाई अझ फराकिलो पारिदिएको छ,’ क्षितिज भन्छन्, ‘बेलाबेला आयोजना भइरहने नेपाली सांगीतिक कार्यक्रमहरूमा पनि उपस्थिती जनाउने गरेको छु।’
अष्ट्रेलियामा पाँच वर्षअघि आयोजित पहिलो ‘अष्ट्रेलियन नेपाली आइडल’ मा उनलाई निर्णायकको जिम्मेवारी दिइएको थियो।
हाल दोश्रो एल्बमको तयारीमा रहेका क्षितिज संगीतकार न्ह्यु बज्राचार्यको सामीप्यमा रहेर उनकै ‘डोरेमी स्टुडियो’मा अभ्यासरत छन्।
‘मेरो नजरमा क्षितिज एउटा सम्भावना बोकेका कम्पोजर हुन्,’ संगीतकार बज्राचार्य भन्छन्, ‘एउटै गीतमा थुप्रै कर्डको मिठासपूर्ण संयोजनमा उनको विशेषता देखिन्छ।’
क्षितिजकै संगीतमा तयार हुँदै गरेको आगामी गीत ‘हिमाल पहाड तराई’ का निम्ति उनीसँगै न्ह्यु बज्राचार्यले समेत आफ्नो स्वर दिइसकेका छन्।
प्रस्तुत गीतमा संगीत र स्वर क्षितिजको आफ्नै रहेको छ भने शब्द गिरीश गिरीको हो। गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन्। म्युजिक भिडियो हरि हुमागाइँको छायांकनमा सन्तोष लामिछानेको निर्देशन हो। यसमा मुख्य पात्रका रूपमा शरद र शिवानीले अभिनय गरेका छन्।
हेर्नुहोस् भिडियोः