‘कथाफेस्ट’को अन्तर्राष्ट्रिय फोटो र फिल्म महोत्सव आयोजना हुने भएको छ।
काठमाडौंको बबरमहल रिभिजिटेडमा फागुन १७ र १८ गते महोत्सव आयोजना हुन लागेको हो।
नयाँ र रचनात्मक कलाकारलाई प्राथमिकता दिन महोत्सव सुरू गरिएको आयोजकले जनाएको छ।
‘कथा भनेको हरेक फिल्ममा हुने कुरा हो। त्यो एकदमै महत्त्वपूर्ण हुन्छ,’ महोत्सव निर्देशक रोज्वे रेग्मीले भने, ‘त्यस्तै कथा भन्न चाहनेको लागि कथाफेस्ट प्लेटफर्म हो।’
युवालाई लक्षित महोत्सवमा २१ वर्षभन्दा कम उमेरको फोटो र ३० वर्षभन्दा कम उमेरका फिल्म हुनेछन्।
आयोजकका अनुसार करिब २२ सय फिल्म कथाफेस्टले पाएको छ। ती अहिले छनोट क्रममा रहेका छन्।
त्यसैगरी, उत्कृष्ट २५ फोटोग्राफरले खिचेका फोटो महोत्सवमा राखिनेछन्। यसलाई महोत्सवमै खरिद गर्न समेत सकिन्छ।
फोटो प्रतियोगिताको निर्णायक मण्डलमा राज भाई सुवाल छन्।
त्यसैगरी, फिल्ममा साम्तेन भुटिया, अभिनाश विक्रम शाह र नेपाल चलचित्र आलोचक समाज रहेका छन्।
यो महोत्सवबाट उठेको रकम र युलेन्स स्कुलको सहयोगबाट कथाफेस्टले गाउँका विद्यालयलाई फिल्म र फोटोग्राफीमा सीप विकास गर्न प्रशिक्षण दिनेछन्। त्यसका लागि नेपालका सात गाउँमा क्यामेरा र अन्य सामग्री पनि प्रदान गर्ने आयोजकले जनाएको छ।
कथाफेस्टका फिल्म र फोटो दुई सय रुपैयाँमा 'kathafest.com' मा खरिद गर्न सकिने छ।
हरेक टिकटमा एक स्क्रिनिङ (२ फिल्म र फोटो) हेर्न सकिन्छ। महोत्सवबीचमा नृत्य, गीत लगायतका अन्य प्रस्तुति पनि हुने आयोजकले जनाएको छ।