‘यो अझै पर्याप्त छैन,’ बक्सिङ रिङमा एक पात्र आफैंलाई भन्छिन्।
‘छ त?’ दर्शकलाई सोध्छिन्।
एक दर्शक 'भइसक्यो' भनेर मुन्टो हल्लाउँछन्। तर उनी जसलाई काम गरेर देखाइरहेकी छन् उनलाई त्यो पूर्ण लागिरहेकै हुँदैन।
यो नाटक ‘आइ एम नट हियर’ को दृश्य हो। बिहीबार शिल्पी थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसरमा देखाइएको थियो।
दीपिका अरविन्दले निर्देशन गरेको नाटकले महिलाले समाजमा भोगेका विभिन्न पक्षहरूको उजागर गरेको थियो। महिलाहरू समाजमा कसरी बाँधिएका छन्? कसैको इशारामा चल्न कसरी बाध्य छन् भन्ने जस्ता पक्ष नाटकमा शरीरको भाषामार्फत देखाइएको थियो। महिलाको संघर्षलाई बक्सिङमा जस्तो विभिन्न 'राउण्ड'मा देखाउन बक्सिङ रिङको सेट तयार पारिएको थियो भने हेर्ने दर्शकलाई पनि तीनपट्टि राखिएको थियो।
केवल दुई महिला पात्र रहेको नाटकमा विभिन्न राउण्ड चल्दै गर्दा उनीहरू विभिन्न स्वरुपमा परिवर्तन हुन्थे। घरि पुरुष महिलालाई खेलौनाजस्तो चलाइरहेको, घरि सासूले बुहारीलाई यस्तो यस्तो हुनुपर्ने बताइरहेकी। घरि महिला लेखिका कसैले उसले लेखेको कुरालाई बेकामे फेमिनिस्ट भनेर लेखिदिएको समीक्षा पढिरहेकी।
नाटकले समाजमा विद्यमान यस्ता विविध पक्ष ल्याएर दर्शकलाई सोच्ने बनाएको थियो।
नाटकको ध्वनी पक्ष सुन्दर थियो। मञ्चमा भइरहेको दृश्यको उतारचढाव ध्वनीले अझै बुलन्द पार्थ्यो। दृश्यमा भइरहेको भन्दा विपरीत भाव सिर्जना गर्थ्यो। दर्शकलाई सोच्ने ठाँउ प्रशस्त दिँदै कुनै कुनै 'प्रप्स' समाउन दिएर नाटकले यो तिमीहरूकै सहरको कथा हो र यसमा तिमी पनि समावेश छौ भन्ने सन्देश दिन खोजेको थियो।
बक्सिङ रिङ आफैंमा सांकेतिक बिम्ब हो। महिलाहरू बक्सिङ रिङमा राउण्ड राउण्ड खेल्न उत्रिएजस्तै दैनिक जीवनमा रगडिन बाध्य छन् र त्यसको डोरीमा जस्तै बाँधिएका छन् भन्ने देखाउँदै नाटकले अन्तिममा त्यो डोरी खोलेर स्वतन्त्रतको सन्देश दिएको छ।
झुकेको शिर उठाउन ‘माङ्गेना’
माङ्गेनाको अर्थ हुन्छ – शिर झुकेकोलाई उठाउनू। किराँत समुदायमा आत्मबल उठाउने सांस्कृतिक अनुष्ठान हो, माङ्गेना।
‘चुलाचुली थिएटर’, इलामले मण्डला नाटकघरमा प्रस्तुत गरेको नाटक 'माङ्गेना' मा लिम्बू समुदायको कथा देखाइएको थियो। लिम्बू समुदाय बीचमै भइरहेको जातीय विभेद र संघर्ष प्रस्तुत गरिएको थियो। त्यस समुदायको फरक–फरक धर्ममा विश्वास राख्नेबीच हुने विभेदलाई कथाले समेटेको छ।
त्यसैगरी, कथित दलित समुदाय र लिम्बू समुदायको सम्बन्ध र संघर्ष पनि नाटकमा देखिन्छ।
लिम्बू र नेपाली दुवै भाषा प्रयोग गरिएको नाटकले धान नाच्ने संस्कृतिलाई पनि जोडेको छ। सिलाम साक्मादेखि सालको पातसम्मको सांस्कृतिक प्रप्सलाई प्रयोग गरेर सांस्कृतिक पाटो पनि उजागर गरेको छ।
धर्म र संस्कारको द्वन्द्वबीच नारी नारी स्वतन्त्रताका साथै विद्रोह पनि देखाइएको थियो। त्यसैगरी, लिम्बूहरूको मुन्धुममा कुनै पनि विभेदको संस्कृति नभएको कारण समान व्यवहार गर्न सके सबैको माङ्गेना अर्थात शिर उठाउने काम हुन्छ भन्ने सन्देश दिएको छ। मुन्धुमले प्रकृतिलाई प्रधान मानेर जीवनदेखि मरणसम्ममा विभेदले कुनै ठाउँ नपाएको बुझ्न नाटक माङ्गेनाले दिशानिर्देश गरेको थियो।
मेमोरी यार्ड कि ग्रेभ यार्ड?
नाटकका पात्रहरू मृत्युको भयमा छन्। जीवनलाई मुल्यहीन बनाउने कारण खोज्छन्। बेला बेलामा मृत्यु पात्र अदृश्य रुपमा धेरै कुरा बोलेर जान्छ।
कौशी थिएटरमा चे शंकर निर्देशित नाटकमा विभिन्न विम्ब प्रयोग गरिएका थिए। विम्बहरूले धेरै कुरा खोजी गरेका थिए। जीवनको बुझाइका खोजमा पात्रहरू कतै हराउँछन्, कतै देखिन्छन्। जीवनको अस्वित्वको मन्थनमा शून्यतालाई बढी जोड दिएर उभिन्छन्। हाँस्छन्, उत्सव मनाउँछन्।
मञ्चको बीचमा रुख र त्यसमा झुन्डिएको ऐजेरु जस्तो देखिने झुन्डो। तल खोला किनारका गोला ढुंगा। दुई कुनामा २ घर।
नाटकले डा. गोविन्द केसीका कुरादेखि मदन भण्डारीसम्मको विषयका साथै परिवर्तित समाजमा देखिएका र भोगिएका आर्थिक, सामाजिक राजनैतिक विषयप्रति मानवीय संवेदना को चासो कस्तो छ भन्ने कुरा देखाउने प्रयास गरेको थियो। मृत्यु अनि प्लेनका प्रसंग जोडिदा घरिघरि पर्यटन मन्त्रीसहित ७ जनाको मृत्यु पनि सम्झाउँथ्यो। नाटकमा कलाकार कामेश्वर चौरासिया, अर्चना पन्थी, उमेश पोखरेल र कुमार थामी थिए।
‘त रेहाए’
त्यसैगरी, कीर्तिपुर रंगमञ्च (थिएटर मल) मा ‘त रेहाए’ नामक नाटक प्रदर्शन गरिएको थियो।
त रेहाएको अर्थ स्वतन्त्रता हो। दुई भिन्न तथा एक आपसमा युद्धरत समुदायका युवायुवती बीचको प्रेमकथा नाटकमा देखाइएको थियो। अफगानी लेखक तथा नाटककार कुर्वान मर्जाईको लेखन तथा सायेद ईडरिस फक्रिको निदेशनमा मञ्चन भएको यो नाटकले तालिवान समस्या भईरहेको समयको कथालाई प्रस्तुत गरेको थियो।
अफगानिस्तानको दुई फरक जाति हजारा अर्थात सिया समुदायकी केटी र पस्तुन अर्थात सुन्नी समुदायको केटा बीचको प्रेम देखाइएको यो नाटकले प्रेम र मानवियताको शक्ति संकेत गर्छ।
योबाहेक मण्डला परिसरमा ‘इन्साइड आउटसाइड’ नामक नाटक प्रस्तुत गरियो। नेपालमा भएको दस वर्ष लामो माओवादी संघर्षको पृष्ठभूमिमा नाटक तयार पारिएको थियो। नाटकबाहेक ‘लुकिङ आउट, लुकिङ विदिन’ विषयमा रंगकर्मी अनुप बराल र पशुपति राईबीच अन्तर्क्रिया पनि भएको थियो।नाटक 'त रेहाए' का दृश्य।