नेपाली बजारमा कविता संग्रह ‘अनुहारको भीड’ सार्वजनिक भएको छ । शनिबार सर्वनाम थिएटरमा एक कार्यक्रम आयोजना गरी समीक्षक बन्दना ढकाल, गुरुङ सुशान्त र लेखक राजन मुकारुङले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
व्यक्तिगत रूपमा कुनै कविताकृति प्रकाशनमा नल्याएका १७ जना कविका कविता समेटेर कवितासंग्रहको सम्पादन नवीन प्यासीले गरेका हुन्।
संग्रहमा कविहरू अनमोल कँडेल, अर्पण उत्कर्ष, विवस बाबु, विनय सरगम, विष्णु सन्यास, जनक कार्की, जयन्ती मगर सरगम, मनोज मुश्किल, मनोज विश्वकर्मा, नवीन प्यासी, निर्भीकजंग रायमाझी, रसिक राज, समर्पण श्री, सम्पदा रिजाल, शरद ऋतु, शिखर भट्ट र सुरज रानाका कविता समावेश छन् । संग्रहमा आवरण चित्र र कला कवि एवं चित्रकार रसिक राजको रहेको छ ।
कार्यक्रममा बोल्दै लेखक राजन मुकारुले पछिल्लो पुस्ताले आफूले सकेको सामर्थ्यले काव्य लेखन र चिन्तन गरिरहेको बताए।
उनले नयाँ आगमनलाई निषेध गर्न नहुने बताउँदै कविहरूलाई नेपाली साहित्यमा स्वागत गरे।
यस्तै अर्का वक्ता बन्दना ढकालले परिवर्तन र विचारको सवाल नयाँ कविहरू निकै सचेत हुनुपर्ने बताइन् । इन्डिगो इंक पब्लिकेसन्सले बजारमा ल्याएको पुस्तकको मूल्य ३ सय ५० रहेको छ ।