वि.स. २०५८ जेठ १९ मा राजा वीरेन्द्र शाह परिवारको रहस्यपूर्ण हत्या भयो। धेरै नेपालीले सम्झनास्वरूप उनको परिवारको तस्बिरलाई भगवान जसरी घर/घरमा सजाए। कलाकार पद्मश्री श्रेष्ठले त्यही तस्बिर स्वरूपलाई पुतलीमा ढालेकी छन्।
त्यो पुतलीसहित मौलिक संस्कृति एवं जातजाति झल्काउने ३३ पुतली यतिबेला प्रदर्शनीमा राखिएका छन्। चैत १७ सम्म चल्ने प्रदर्शनी झम्सीखेलस्थित म्युजिक आर्ट ग्यालरीमा राखिएका छन्।
करिब २० वर्षदेखि श्रेष्ठले पुतलीमा कलाको प्रयोग गर्दै आएकी छन्। सानैदेखि त्यसले आकर्षित गरेको उनी बताउँछिन्।
‘मलाई सानैदेखि पुतलीले आकर्षित गर्थ्यो। कलेजमा पनि ह्युमन एनेटोमी गर्दा त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर हेर्थें,’ श्रेष्ठले भने, ‘त्यही अध्ययन र प्रयोग मैले साँस्कृतिक रूपमा देखाएको हो।’
‘इथ्निसिटी अफ डलस्’ नामाकरण गरिएको प्रदर्शनीमा नेवार, बाहुन, शेर्पा, तामाङ लगायत विविध संस्कृति, जातजातिका स्वरूपहरू उतारिएका छन्। विशेषगरी नेवारी समाज बढी देखिन्छन्। कुमालेले माटाका भाडा बनाएको, विवाह गरेको, कुमारी प्रथा लगायत छन्।
प्रदर्शनी हेरिरहेकी उर्मिला जोशीले ‘कुमारी, भैरव र गणेश’ एकैसाथ रहेको पुतलीले आकर्षित गरेको बताइन्।
‘यी तीन उस्तै स्वरूपका छन्। जात्रापर्वमा समेत धेरै मानिस झुक्किन्छन्,’ उनले भनिन्, ‘यिनलाई खुट्याउने केही गहना वा चिन्ह भइदिए सजिलो हुन्थ्यो। त्यस्तो नहुँदा धेरै समस्यामा परिरहेको देख्छु।’
‘ब्यागंल सेरेमेनी’ लेखिएको अर्को पुतलीलाई हेर्दै उनले पुराना दिन सम्झिइन्। उनका अनुसार पहिले ‘कल्याः न्याकेगु’ भनेर बेहुलाले बेहुलीलाई विवाहपूर्व चुरा लगाइदिने चलन थियो। त्यो प्रथा आधुनिकतासँगै हराइरहेको छ। त्यसैगरी, विवाह गरेर घर ल्याएपछि ‘सप्याकुः’ भनेर दुलहीको कपाल बनाइदिने, सिँगारिदिने चलन पनि हराएको उनले उल्लेख गरिन्।
प्रदर्शनीमा हामी बाहुनको विवाहमा ‘कसार’ कति महत्वपूर्ण हुन्छ भन्ने संकेत दिने पुतली पनि देख्छौं। त्यसैगरी, शेर्पाको विवाहमा चिया खाइरहेको लगायत देख्न सक्छौं। त्यसैगरी, परम्परागत तरिकाले घ्यु बनाएको, रक्सी पारेको, योःमरि बनाएको लगायत प्रदर्शनीमा छन्।