वैशाख २१ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच साहित्यकार तर्कना शर्माद्वारा लिखित उपन्यास 'जेब्राक्रस' सार्वजनिक गरिएको छ। साङ्ग्रीला बुक्सद्वारा प्रकाशित 'जेब्राक्रस' लेखक शर्माको पहिलो उपन्यास हो।
'जेब्राक्रस' ले हाम्रो समाज देखिइँदै आएका र लुप्त जटिल विषयहरू उजागर गरेको छ। समाजमा महिलाले भोग्नुपरेका तीता अनुभूति र समलिङ्गीहरूको सामाजिक र मनोवैज्ञानिक अवस्थालाई उपन्यासले खोतल्न खोजेको छ।
विशेषतः समलिङ्गीहरूले समाजमा सम्मान साथ जिउन पाउने अवस्था हुँदा कसरी उनीहरूले चालेका कदमले आफ्नो र अरूको जीवनमा बाधा पुग्छ भन्ने उपन्यासले उदाहरण प्रस्तुत गरेको छ।
उपन्यास 'जेब्राक्रस' सार्वजनिक कार्यक्रममा कवि बाबु त्रिपाठीले अन्तरसंवाद कार्यक्रम संयोजन गरेका थिए। कार्यक्रममा डा. रजनी ढकाल, डा. तारालाल श्रेष्ठ तथा साहित्यकार भुवनहरि सिग्देलले उपन्यासमाथि आ–आफ्नो धारणा राखेका थिए।
उपन्यास जेब्राक्रसमाथि टिप्पाणी गर्दै डा. रजनी ढकालले उपन्यासले महिला समस्यालाई ज्यादै शिष्ट तरिकाले आङ नै जिरिङ्ग हुने गरी सरल र सरस भाषामा सम्बोधन गर्न सफल रहेको बताइन्। उपन्यासले नेपाली साहित्यमा समलिङ्गीहरूका अनुभव र अनुभूतिको गहिराइलाई पाच्य भाषामा उतार्न सफल रहेको उनले बताइन्।
'यो विषय नेपाली साहित्यको मात्र नभएर विश्वव्यापी बहसको विषय हो, जहाँ पितृसत्ताका कारण महिलामाथि हुने दमन, शोषण र अन्यायको खुलेर विरोध गरिएको छ,' डा. ढकालले भनिन्।
कार्यक्रममा डा. तारालाल श्रेष्ठले नेपाली साहित्यमा समलिङ्गीका अनुभूति र समस्याको गहिराइ छाम्न कृति सफल रहेको बताउँदै उपन्यासले ज्यादै कौतूहलपूर्ण तरिकाले विषम लिङ्गी र समलिङ्गी बीचको वैवाहिक सम्बन्धमा आउने उतारचढावलाई सूक्ष्म सम्बोधन गरेको बताए।
उपन्यासकारको ध्यानाकृष्ट गर्दै उनले भने, ‘पुरातनवादी समाजले तपाईंलाई लाञ्छना लगाउन सक्छ।’
समलिङ्गीहरूलाई कानुनी मात्र नभएर सामाजिक रूपमै सहज बनाइनु पर्ने धारणा राख्दैे उपन्यासमा पढ्दापढ्दै पाठकको मस्तिष्क हल्लाउने क्षमता रहेको बताए।
साहित्यकार भुवनहरि सिग्देलले उपन्यासमाथि आफ्नो धारणा राख्दै मानवीय अनुभूतिका सूक्ष्म कोण समात्न सफल रहेको बताए।
उपन्यासले उनले भने, ‘उपन्यासमा आएका घटना, पात्र र कथानकमा ज्यादै रोचकता रहेको हुँदा उपन्यास पठनीय बनेको छ।’
समलिङ्गीहरूको मन, मस्तिष्क र अनुभूतिको गहिराइमा पस्न लेखक सफल भएको उनको भनाइ थियो।
उपन्यासकार तर्कना शर्माले कोही प्रकृतिभन्दा बाहिर जान सक्दैन भन्दै समाजमा हाँसोको पात्र बनाइएका समलिङ्गीहरू पनि मान्छे हुन्, उनीहरूलाई मान्छेको जस्तो व्यवहार र इज्जत गरिनु पर्ने बताइन्। समलिङ्गीका अनुभव, अनुभूति र उनीहरूको समस्यामाथि बहस र चर्चा चलाइनु पर्ने उनको धारणा थियो।