नेपाली हास्यव्यङ्ग्य साहित्यकलाको प्रचारप्रसार, प्रवद्र्धन र व्यङ्ग्य साहित्य मार्फत राज्यलाई खबरदारी गर्दै आएको अभियन्ता संस्था सिस्नुपानी नेपालले हालै अमेरिकाका विभिन्न राज्यहरुमा सिस्नुपानी हास्यव्यङ्ग्य यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
विगतमा युएइ, कतार, मलेसिया, बहराइन, ओमान लगायत मुलुकहरुमा ‘दुईथोपा हाँसो’ शीर्षकमा हास्यव्यङ्ग्य कार्यक्रमहरु गरेको यस संस्थाले अमेरिकामा भने पहिलोपटक यसप्रकारको कार्यक्रम आयोजना गरेको हो ।
नयाँ वर्ष २०७६ को उपलक्ष्यमा नेपाली समाज टेक्सास (एनएसटी) को निमन्त्रणामा संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष अर्जुन पराजुली र महासचिव टंक आचार्यसहित तीन सदस्यीय टोली अमेरिका भ्रमणमा गएका थिए। ।
एनएसटी र इन्द्रेणी सांस्कृतिक परिवारको संयुक्त आयोजनामा २०७५ चैत्र ३० गते टेक्सास राज्यको ड्यालसमा आयोजना गरिएको एक भव्य साँस्कृतिक कार्यक्रमबाट प्रारम्भ भएको सिस्नुपानी नेपालको हास्यव्यङ्ग्य यात्रा वैशाख २३ गते सिस्नुपानी यात्राको अन्तिम कार्यक्रम राजदूत निवासको सभाकक्ष वासिङटन डिसीमा सम्पन्न भयो । अमेरिकाका सात सहरमा हास्ययात्राहरू गरिएको हो।
सिस्नुपानी देउसीको नमूना अंशः
हामी त्यसै आएनौ सिस्नुपानीले पठायो
अमेरिका ताकेर दौराले ढाकेर ।
व्यस्त जीवन युएसको अलिकति भुलाउँछौँ
आउनोस् एकछिन तपाईँलाई नेपाल डुलाउँछौँ
चुच्चे रेल र पानी जहाज ल्याउने भाषण होटलमा
मेलम्चीको पानी ल्याउन आँटे बोतलमा ।
ट्रम्पले भन्दा हाम्रा मन्त्री धेरै इङलिस जान्दछन्
न्यानो स्वागत लाई हट–हट वेलकम भन्दछन् ।
अख्तियारकै आयुक्त भ्रष्टाचारमा चुर्लुम्म
सेटिङ खुस्क्यो लडेछन् गल्र्याम गुर्लुम्म ।
परदेशी नेपालीको कति गाढा एकता नि लै लै
जति जना व्यक्ति त्यति नै छन् संघ संस्था
गौरव लाग्छ यस्तो देख्दा ।
वीर जाति नेपालीको कति राम्रो बानी हो नि लै लै
नपिउन्जेल ज्ञानी पिएपछि पानी
अन्तै जाने घरै नजाने ।
बिदाइ गीतः
निजगढ एयरपोर्ट झरौँला, फास्ट ट्रयाकभित्र छिरौँला
मेची पुगी महाकाली आजै फिरौँला ।
पर्ख पर्ख मयालु म पनि त आउँला
केबुलकारमा चढाएर रारा घुमाउँला ।
त्यस्तो दिन ल्याउनलाई गिरिन कार्ड छाडौँला
मातृभूमि फर्किएर खुशी बाँडौँला ।
आशिषः
सेतोमा छुँदा – कलर होस्
रुपियाँ छुँदा – डलर होस्
भकारी जत्रो – पेट नहोस्
लुटेरा सँग –भेट नहोस्
फेसबुकमा छोरी – नटाँस्योस्
कुलतमा छोरो – नगाँस्योस्
एकजना मात्रै – ब्वाइफ्रेन्ड होस्
तेक्वान्दो नहान्ने– गर्लफ्रेन्ड होस्
बूढाबूढी दुवै – काममा जाउन्
दिनका दिनै – भेट्न पाउन्
ज्याकपटको नशा – नजागोस्
डिभोर्सको दशा – नलागोस्
भविष्य हाम्रो– यस्तो होस्
जाउँ जाउँ नेपाल – जस्तो होस् ।।