लाइभ संगीत कलाकार र दर्शकलाई जोड्ने महत्वपूर्ण थलो हो। कृपा दृश्य डिजिटलको 'घरमा सेसन्स'ले शनिबार साँझ यस्तै अवसर जुरायो।
घरमा सेसन्सको तेस्रो सेसनमा मंकी टेम्पल ब्यान्ड र सिक्किमकी गायिका लिजम भुटिया कार्यक्रमका मुख्य आकर्षण थिए।
लिजमले आफ्ना चर्चित गीत 'किन होला, साँचो माया'लगायत कभर गीतका रुपमा १९७४ एडीको 'छु टाढा' गाएर दर्शकलाई लठ्याइन्।
रक ब्यान्ड मंकी टेम्पलले आफ्नो चर्चित गीत 'गहिरो'बाट आफ्नो प्रस्तुति सुरु गर्यो। नयाँ एल्बम 'अजम्बरी'का दुई गीत अजम्बरी र यादहरुसँगै कार्यक्रम समापन भयो।
ब्रिक्स क्याफे कुपन्डोलमा सम्पन्न कार्यक्रममा युवा पुस्ताको बाहुल्य थियो। कार्यक्रममा मंकी टेम्पलका गायक सरिन देउजालाई सहभागीहरुले रमाइला प्रश्नहरु सोधेका थिए। आयोजकका तर्फबाट प्रश्न सोध्ने सहभागीलाई पुरस्कार समेत प्रदान गरिएको थियो।
गायक रोहित जोन क्षेत्रीबाट सुरु भएको घरमा सेसनको दोस्रो कार्यक्रममा सबिन राईका गीत संगीत प्रस्तुत भएको थियो।
स्टेजमा कलाकारलाई स्रोता दर्शकले टाढाबाट देखिरहेका हुन्छन्। घरमा सेसन्समा भने आफूले रुचाएका चर्चित कलाकारहरुलाई नजिकैबाट सुन्न र भेट्न पनि पाइन्छ।
कृपा दृश्य डिजिटलका सिइओ आशिष स्याङ्देनले सेतापाटीसँग भने, 'घरबाटै जन्मिएको आइडिया भएकोले नामै घरमा सेसन राखियो। यसको श्रेय साथी यानिकलाई जान्छ।'
सानो समूहमा घरेलु वातावरणमा कार्यक्रम भए पनि डिजिटल युग भएकोले घरमा सेसन्सका केही गीतलाई कृपा दृश्य डिजिटलको युट्युब च्यानलमा समेत राख्ने गरी प्रत्यक्ष सुटसमेत गरिन्छ।
स्याङ्देनले थपे, 'कार्यक्रममा आउन नपाउने स्रोताले पनि भिडियो हेरेर आनन्द लिन सकून भनेर तेस्रो सेसनका दुईटा भिडियो अपलोड गरिनेछ।'
हालका लागि घरमा सेसन्सको १२ ओटा कार्यक्रम गर्ने योजना रहेको समेत उनले जानकारी दिए।