सन् १९९१ मा 'भेनिटी फेयर' म्यागेजिनले कभर फोटो बनाएको हलिउड नायिका डेमी मुरको तस्बिरले ठूलो तरंग ल्याएको थियो। गर्भवती मुरको 'बेबी बम्प' तस्बिरको आलोचना गर्नेहरू नभएका हैनन्। तर उनको त्यो तस्बिर प्रकाशनपछि गर्भवती अवस्थालाई लुकाउनेभन्दा प्राकृतिक प्रकृयाका रूपमा स्वीकार्ने धेरै भए। मुरपछि धेरै नायिकाले उनकै बाटो पछ्याए।
यसरी गर्भवती हुँदाको बेलाका तस्बिर खिचाउनेमा नायिकासँगै अरू सेलेब्रेटीको संख्या पनि उल्लेख्य छ। यो सूचीमा हलिउड नायिका एन्जेलिना जोली, किम कारदेसिया, स्कार्लेट जोन्सनदेखि बलिउड अभिनेत्री कोनकोना सेन, करिना कपुर, नेहा धुपियालगायत धेरैको नाम अटाइसकेको छ।
चर्चित गायिका बियोन्सेको जुम्ल्याहा बच्चाकी आमा बन्न लागेका खबरसहितको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनी 'भाइरल' बनेकी थिइन्।
के हलिउड, के बलिउड वा के नेपाली सिने जगत वा भनौं सर्वसाधारण नै, गर्भवती अवस्थालाई लाजको रुपमा भन्दा गर्व र उत्सवको रुपमा लिने चलन बढ्दो छ। योसँगै फोटोसुट ट्रेन्ड फैलिरहेको सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ।
पछिल्लो समय रङ्गमञ्च र सिनेमामा सक्रिय सृजना सुब्बाले गर्भवती अवस्थामा गरेको फोटोसुट यस्तै अभ्यासको कडी हो। आमा बन्ने प्रक्रियालाई उत्सवका रुपमा मनाउनु पर्ने भन्दै उनले सार्वजनिक गरेका तस्बिर अहिले चर्चामा छ।
महिला सशक्तीकरणको रुपमा समेत अर्थ्याइने यस्तो अभ्यासमा सृजना पछिल्लो उदाहरण बनेकी छन्। यसअघि गर्भावस्थामै महाभाेज नाटकमा अभिनय गरेर चर्चा कमाएकी उनको पछिल्लाे फाेटाेसुटलाई पनि धेरैले 'बोल्ड' कदम मानेका छन्।
समाजमा अझै गर्भावस्थालाई लाज र संकाेचका रुपमा लिइने भएकाेले यस्ताे धारणा बदल्न सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेकाे सृजनाकाे भनाइ छ।
नायिका निशा अधिकारी
गर्भावस्थामा तस्बिर सार्वजनिक गर्नेहरुमा नायिकाहरु निशा अधिकारी, संचिता लुइँटेल, ऋचा घिमिरे, बिनिता बराल र पूर्व मिस नेपालहरु झरना बज्राचार्य, माल्भिका सुब्बालगायतका कलाकार छन्।
पूर्व मिस नेपाल झरना बज्राचार्य
पूर्व मिस नेपाल माल्भिका सुब्बा
श्रीमानका साथमा नायिका बिनिता बराल
(तस्बिर स्राेत: सामाजिक सञ्जाल)