कलाकार तथा लेखक नवीन्द्रमान राजभण्डारीको ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग सार्वजनिक भएको छ। शनिबार लाजिम्पाटस्थित 'सिर्जना कलेज अफ फाइन आर्टस'मा आयोजित पुस्तक विमोचन तथा अन्तरसंवाद कार्यक्रममा अभि सुवेदी, मदन चित्रकार, विनोद विष्ट, शरदचन्द्र पौडेल, प्रकाश सायमी र गीता त्रिपाठीले कृतिको संयुक्त रुपमा विमोचन गरे।
चित्रकार मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढंगले बुझ्न पुस्तकले सघाउने विचार व्यक्त गरे। उनले पुस्तकमार्फत युरोपको राजनीतिक तथा सांस्कृतिक परिवर्तनसँगै कलामा देखिएका नयाँ आधारलाई कलाले अंगीकार गरेका विषयसमेत थाहा पाउन सकिने जिकिर गरे। उनले भने, ‘विश्व कलाका विविध आयाम र चिन्तनलाई नजिकबाट नियाल्न पुस्तक निकै उपयोगी छ। पुस्तकले कलाको सिलसिलेबार विकासक्रम र त्यसको आधारलाई केलाएको छ।’
समीक्षक अभि सुवेदीले नेपाली भाषामा विश्वकलाका विभिन्न पक्ष समेटेर निकालिएको यो पुस्तक कलाकार, विद्यार्थी तथा कलाप्रति रुचि राख्ने जोकोहीका लागि उयपोगी हुने विचार व्यक्त गरे। उनले भने, ‘पश्चिमी कलाका बारेमा खासै नेपालीमा पुस्तक लेखिएको छैन। यसरी व्यवस्थित हिसाबले पनि लेखिएको छैन। हामीले विश्वका कलाका प्रदर्शनी हेर्न पाउँदैनौ। यस्तै पुस्तकबाट ती कला र कलाकारका बारेमा थाहा पाउने हो। यस दृष्टिले यो पुस्तक महत्व निकै छ।’
डा. विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको बताए। उनले लेखकले कलाका विभिन्न शैलीलाई तथ्यपरक ढंगले पुस्तकमा चित्रण गरेको विचार व्यक्त गरे। पूर्वसचिव तथा लेखक शरदचन्द्र पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको धारणा व्यक्त गरे। उनले भने, ‘पुस्तक नेपाली कला तथा साहित्य क्षेत्रका लागि महत्व राख्ने गरी प्रकाशित भएको छ ।’
लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्वको रहेको बताए। उनले भने, ‘पुस्तकले कलाका आन्दोलन र त्यसको प्रभावलाई केलाउन सफल भएको छ।’ कार्यक्रममा डा. गीता त्रिपाठीले कलाका विभिन्न वाद बुझ्न पुस्तक उपयोगी रहेको बताइन्। भाषिक पक्ष राम्रो रहेको बताउँदै उनले कलालाई नजिकबाट नियाल्न र यसका विविध पाटाका बारेमा जान्न पुस्तक सहयोगी हुने विश्वास लिएको बताइन्।
पुस्तकका लेखक नवीन्द्रमान राजभण्डारीले कलाका बारेमा जान्न चाहनेका फाइदा हुने विश्वासका साथै कृति प्रकाशित गरेको बताए। उनले भने, ‘नेपाली कलाकार, विद्यार्थी तथा कलापारखीका लागि पुस्तक एउटा पाठ्यसामग्री हुने विश्वास लिएको छु।’
सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार रुपियाँ राखिएको छ।
यसअघि राजभण्डारीको ‘पाश्चात्य कला : संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशित भइसकेको छ। चित्रकार तथा कला अध्यापकसमेत रहेका राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गरेका छन्। राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार पाइसकेका उनी नेपाल सरकारको निशाना छापको मुख्य डिजाइनरसमेत हुन्।