बुटवलमा 'जिउँदा जीवराज' नामक वृत्तचित्र सार्वजनिक गरिएको छ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानले स्वर्गीय जीवराज आश्रितको ७८ औं जन्मजयन्तीका अवसरमा वृत्तचित्र सार्वजनिक गरेको हो।
तत्कालीन एमालेका कुशल संगठकको रूपमा चिनिएका आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको घटनामा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको पनि निधन भएको थियो। मदन आश्रितको निधन भएको उक्त घटना नेपाली राजनीतिक इतिहासमा दासढुंगा हत्याकाण्डको रूपमा परिचित छ।
तत्कालीन एमालेका दुई प्रभावशाली नेताहरूको मृत्यु हुनेगरी भएको उक्त घटनालाई एमालेले दुर्घटना नभई सुनियोजित र रहस्यमय हत्याकाण्ड भन्दै आएको छ। यद्यपी रहस्यमय दासढुंगा घटनापछि एमाले पार्टी नै पटक-पटक सरकारमा सहभागी हुने र सरकारको नेतृत्व गर्ने अवसर पाउँदा समेत उक्त घटनाको सत्यतथ्य कारण पत्ता लगाउन सकेको छैन।
एउटै दासढुंगा घटनामा निधन भएका मदन भण्डारीको चर्चा नेपाली राजनीति र देशविदेशमा समेत भइरहँदा उनको सहयात्रीको रूपमा पछ्याउँदै हिँडेका जीवराज आश्रितको योगदान हराउन थालेको भन्दै १२ वर्ष पहिले बुटवलमा जीवराज आश्रित स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो। सोही प्रतिष्ठानले आश्रितको जन्मदेखि मृत्युवरण गरेपछि सम्मको अवस्थालाई समावेश गरी वृत्तचित्र तयार गरेको हो।
श्रीनगर फिल्म्सको व्यानर तथा साहित्यकार डा. मुरारी पराजुलीको लेखनमा निर्माण गरिएको वृत्तचित्रमा स्वर्गीय आश्रितले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानलाई मसिनो गरी चित्रित गरिएको छ।
२००१ साल साउन १८ गते आमा चन्द्रकला शर्मा र बुवा प्रेमराज शर्माको सन्तानको रूपमा गुल्मीको हरेवामा जन्मिएका आश्रितको स्मृतिमा तयार गरिएको वृत्तचित्रले दासढुंगा घटनाको रहस्य खोतल्न नेकपा एमाले र सरकारलाई नै पुनः झकझकाएको छ।